अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

विश्व बैंक र नेपाल सरकारबीच ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा सम्झौता

बिआरटीनेपाल २०७७ साउन २ गते ७:३४ मा प्रकाशित

नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा ४५ करोड अमेरिकी डलरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले समझदारीमा हस्ताक्षर गर्नुभएको हो । विश्व बैंकले कोभिड १९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढावा दिन सडक सहयोग आयोजनाअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि उक्त रकम खर्च गर्नेछ । अर्थमन्त्री खतिवडाले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्षहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताउनुभयो ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले कोभिड १९ संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने बताउनुभयो । आपतकालिन अवस्थाको सम्बोधन र पुनरुत्थानलाई सघाउन आयोजनाको रकम आवश्यकता अनुसार पुनविनियोजन गर्न सक्ने गरी आयोजनामा आपतकालिन सहयोग कार्यक्रम समेत समावेश गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू