अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

यातायात व्यवसायी र मजदुरको माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

बिआरटीनेपाल २०७७ साउन १ गते २:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गाडी चलाउनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनुभएको छ । कोभिड– १९ को महामारीपछि सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनुभएको हो ।

उहाँले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक गाडी चलाउन यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो । संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई थियो ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या राखेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि यातायात व्यवसायी र मजदुरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।भेटमा अध्यक्ष दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो । त्यसको लागि पार्टी र सरकारसँग छलफल गर्ने आश्वासन पनि उहाँले दिनुभएको थियो ।

प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा दिने, राहत र अनुदान तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताउनुभयो । व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू