अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

नाउँ फेरिपाऊँ

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ असार ३१ गते १०:०६ मा प्रकाशित

केही पहिले पाँचको अन्त्य र छको आगमनपछिदेखि हरेकतिर नाउँ फेर्ने प्रचलन बढ्दोछ । मपको रात्रि बैठकको निर्णय वा संसद्को दिवा घोषणाबाट अनेकका नाउँ फेरिए । प्रजातन्त्र शिशु अवस्थामै पखाला लागी सुइँकिएकाले सबभन्दा पहिले प्रजातन्त्रको नाउँ लोकतन्त्रमा फेरियो । अर्थ उही भए’नि कहाँको पुरानो प्रजातन्त्र, कहाँको नयाँ लोकतन्त्र ! प्रजातन्त्र प्रतिगामीहरूले प्रयोग गर्ने शब्द भएकाले त्यसलाई फेरी लोकतन्त्र बनाइएको भन्ने सुनियो । कुरा बेठिक पनि थिएन । अग्रगामीले पश्चगामीजस्तो हुन पनि त भएन नि ! ठुलो परिवर्तनपछि काम धेरै फेरिन्छन् भने अत्यावश्यक कतिपय नाउँ पनि फेरिन्छन्… ।

नाउँ राख्ने कामलाई न्वारान भनिन्छ र त्यो काम पुरेतबाट हुने गर्छ । अब नाउँ फेर्ने कामलाई फेरान भनौँ र त्यो काम सर्वपक्षीय विशेष निर्णयबाट गरौँ ।

ठाउँ उही, माउ उही, काम उही, दाम उही, हाम उही केवल हाम गर्ने दुईचार बच्चा फेर्नु अनि रामको ठाउँमा हनुमान ल्याउनु, रामको सट्टा हनुमानको चाकडी गर्नु र रामले गरिरहेको भोजनभट्ट हनुमानलाई हस्तान्तरण गर्नु नै लोकतन्त्र वा गणतन्त्रको नाउँ र परिभाषा हो भने प्रभु मलाई यस्तो लोकतन्त्रभन्दा ठोकतन्त्र अनि यस्तो गणतन्त्रभन्दा गाँडतन्त्र नै भएपुग्छ । हिजोका प्रतिगामी भनिएकाहरू आज नाउँ फेर्नेबित्तिकै घोर लोकतन्त्रवादी वा गणतन्त्रवादी हुने र मजस्ता दीनदुखी जनताचाहिँ जहाँको तहीँ रहिरहने भए त्यस्तो परिवर्तन मलाई चाहिएन । यस्ता कुरा गरेबापत बरु मलाई प्रतिगामीमा नाउँ दर्ता गरी फा“सी दिए ढुक्क हुन्छ, नत्र म बोलिरहन्छु… ।

राष्ट्रिय अस्मिता नै सङ्कटग्रस्त भएपछि शान्तिको माला जपेर ज्योतिष हेराउँदै शासन लम्ब्याउनुको के अर्थ ? हिजोकाले देवदेवीका नाउँमा बलि चढाउँदै जलसिंचन गरी देश भ्रमण गरे, माला थापे र राष्ट्रिय ढुकुटी सुकुटी पारे । आजका प्रभुको नाउँ पुकार्दै होलीवाइनसिंचन गरी उही रीतले विदेश भ्रमणमा मस्त रहे भने के फरक भयो र हिजो र आजमा ? सायद यो त लोकतन्त्र वा गणतन्त्र होइन होला ? शिशु छउन्जेल लोकतन्त्र वा गणतन्त्र पनि यस्तै चकचके हुन्छ कि त ? अनि वयस्कचाहिँ कहिले हुने हो ? तीस वर्ष त पार गरिसक्यो…।

हामीकहाँ धारा एकसय सत्ताईस, माघ उन्नाईस आदि अब त मिथ बनिसके । अन्तरिम रूपमा तिनका पनि नाउँ फेरिए । कतिपय त सनककै भरमा पनि भटाभट नाउँ फेर्न थालियो र फरियो पनि । संसारभर प्रसिद्धि प्राप्त गरिसकेका संस्थाहरूका पनि नाउँ फेरिए, फेरिँदा छन् । हामीलाई कतिपय नाउँसँग एलर्जी भयो, फेरियो तर नाउँ मात्र फेरियो, काम फेरिएन भने त्यस्तो फेराइको के नै पो अर्थ रहला र ? यो त बोतल फेर्नेजति पनि भएन, बोतलबाहिरको लोगोमा भएका केही शब्द मात्र फेरेर आमूलचूल परिवर्तन गरेको ठान्न थालियो ।

भित्री संरचना उही र उस्तै कुहिएको दुर्गन्धित भए पनि बाहिरको बोर्ड फेरी ठुलै परिवर्तन गरेको झ्याली पिटेर मक्ख परियो । श्रीपेच र दण्ड फेरियो, छेडपेच र डन्डा भित्र्याइयो… । केही लाउकेहरूलाई नाउँ फेर्ने जागिर दिइयो पनि । ठिकै छ अब पुराना जतिलाई सुइँक्याइदिउँ नयाँ नयाँ विस्तार गरौँ ! हिजोका पुराना जति सब नयाँ बनाउन लाग्दा बाउआमा, लोग्नेस्वास्नी, छोराछोरीसमेत अब नयाँ बनाउनुपर्ला ! यसो गर्दै जाँदा एक दिन आफ्नो पालो पनि आउँछ नि… !

आफू त सानैदेखि पढ्नमा लद्दुलाल भएकाले जतिपटक जाँच दिए पनि पास हुन नसकेपछि बुर्जुवा शिक्षा बहिष्कारको नारा लाउँदै नाउँ फेरी अन्डरग्राउन्ड भइयो । गाउँबाट सहर पसियो । चिचिला कचिला सुमसुम्याउँदै बसेकै घरकी बुढी कन्या उछिट्ट्याइयो । अलिपछि खुला भइयो, ठोकठाक गरियो । केहीपछि स्वच्छ छविमा नाउँ दर्ता गराइयो, मन्त्रीसन्त्री भइयो । कतैका र कतैकी केही बाँकी राखिएन । अनेक पटक नाउँ फेरियो । अब एक पटक फेरि फेर्नु पर्‍या छ । उहिले त धेरै थोक भ्याइयो भने अब त मजस्ता चुपिचन्डाललाई यस्ताउस्ता पड्काउन कति बेर लाग्छ र… ?

अहिलेको नाउँ फेर्ने लहरमा प्रभु मेरो पनि नाउँ फेरिदिनु पर्‍यो । प्रतिगामी कालमा उन्नाइसअगि राखेको मेरो नाउँ तु फेर्ने आका गरी घोषणा, अध्यादेश वा के ल्याउनुपर्छ ल्याइदिनु पर्‍यो । सर्वप्रथम मेरो नागरिकताको प्रमाणपत्र फेरिपाऊँ । मेरो नागरिकतामा प्रतिगामीसँग जोडिएको नाउँ पशुपतिनाथ नेपाल छ । अब फेरेर बिहारीलाल नेपाल बनाइपाऊँ । मेरी जन्तरी श्रीमतीको नाउँ अहिले राजमती भारती छ । अब लोकमती नेपाली बनाइपाऊँ । उताको नागरिकता यताको बनाइपाऊँ । मैले नयाँ नागरिकता लिन यताउताका मिलाएर साक्षी तयार गरिसकेको छु । कतिले लिइसके अब म मात्र बाँकी छु । यसपछि त उता हुँदा उतैको, यता हुँदा यतैको, जताततैको । क्या मज्जा !

मैले यहाँ पढ्न नसकेर बुर्जुवा शिक्षा बहिष्कार भन्दै भित्रभित्रै लुकेर मित्रराष्ट्रतिर हान्निई ल्याएको एउटा सर्टिफिकेटमा भएको नाउँ पनि परिवर्तन गरिदिनु पर्‍यो । नयाँ नागरिकतासँग मिल्ने गरी मेरा भएका शैक्षिक प्रमाणपत्रको नाउँ र श्रेणी पनि फेरिपाऊँ । नयाँ नागरिकताअनुसार बिहारीलाल नेपालका नाउँमा मेरो पुरानो सर्टिफिकेट नयाँ गरिपाऊँ । पहिलेका प्रतिगामी कालमा दिइएको तृतीय श्रेणी अब प्रथम श्रेणीमा परिवर्तन गरिपाऊँ, प्रभु लोकनारायण नमः, गणतन्त्राय नमोनमः…।

दक्षिणायन इसाराबमोजिम मन्त्री बनी लोकतन्त्र जोगाउनाका लागि कम्मर कसेर रामनामी पीताम्बरका साथ अगि बढेको म अहिले नागरिक समाजको स्वघोषित अदक्ष बनिसकेको मान्छे… । सर्टिफिकेटको त खास काम छैन, तैपनि मलाई पुरानासँग एकदमै घृणा भएकाले नै नयाँ नाउँ राखेर आफ्नो पहिचान बनाउने विचार गरेको हुँ ।

हाललाई मैले आफ्नो र श्रीमतीको पछिल्लो थरचाहिँ कायम राख्ने निधो गरेको छु । मेरो थर देशसँग अनि श्रीमतीको चाहिँ देशवासीसँग मिल्ने खालको भएकाले त्यो सुन्दा धेरै ठाउँ मान्छेहरू हाँस्ने गरेको पीडा छुट्टै छ । तैपनि योचाहिँ अहिलेलाई नफेरी कायमै राख्ने विचार छ । कुनै दिन सांसद वा मन्त्री भएपछि सनक चढ्यो भने त्यो पनि फेर्न बेर लाऊँदिन । त्यति बेलासम्म नफुटे हामी पञ्चनारायण मिलेर निर्णय गरौँला ! त्यो कामचाहिँ पछिको पहिलो बैठकसम्मका लागि थाती राखौँ … ।

हुन त यो फेर्ने चलन सारै नयाँ होइन । कुरा फेर्ने त हाम्रो जन्मजात संस्कार नै हो । मन्त्री भए’सी थर फेर्ने प्रचलन पनि पुरानै हो । उहिल्यैका थरगोत्र पत्ता नलागेर सिंह भनिएका मरीचहरू मन्त्री हुने बित्तिकै श्रेष्ठ बनेकै हुन् । देउपाहरू पनि देउवामा रूपान्तरण भएकै हुन् । लाउतीले पनि साउती मारेकै हुन् । त्यति मात्र होइन गैरेहरू डाँडे र पातकीहरूजति प्रधान पनि त भएकै हुन् नि ! मातृदेवहरूले पनि प्रसाद जोड्न थालिसके । यसैले थरै फेर्न पनि मन्त्री हुनुपर्ने स्थिति छ । मन्त्रीले थर फेरेपछि लाउकेहरू स्वतः फेरिइहाल्छन्… ।

अब सलहको बथानमा खड्ग प्रहार गरेर प्रचण्ड बादल बर्साई अग्नि दहनका साथ दीनदेवहरूको चैतन्यका लागि कृष्णहरू मिलेर रामराज्य ल्याऊँ । पुराना जति सबैको नाउँ फेरौँ, नयाँ नाउँबाट चिनिऔँ । प्रतिगामीसँग मिल्ने जति नाउँ सब फेरौँ । वर्णमालाबाट त्यस्ता वर्ण नै झिकौँ, फ्याँकौँ र नवनव सिर्जना गरौँ । भित्र हस्ताक्षर गरेर बाहिर आई निर्णयको मसी नै सुक्न नपाऊँदै विरोध गर्ने भए’सी अब ‘निर्णय’ शब्द नै फेरिदिऊँ । साँच्चीकै राम्रो गर्ने भए चाकडीबाट जे पनि हुने भएकाले अब त्यो शब्द मात्र होइन नेपाली वर्णमालाबाट ‘च’ नै झिकिदिऊँ । सकेसम्म हाम्रो थरचाहिँ जस्तै सनक चढे पनि र देशीविदेशी जोसुकैले भने पनि भरसक नफेरौँ । बाँकी नाउँजति सबका सब फेरौँ … ।

पुरानो संसद्को नाउँ व्यवस्थापिका संसद् अनि सांसदको नाउँ विधायक बनाएर ठुलै परिवर्तन गरिसकिएकै छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट राजकीय झिक्यौँ तर यतिले पुग्दैन । राजकीय शब्दलाई लोककीय बनाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई नेपाल लोककीय प्रज्ञा प्रतिष्ठान बनाए हुन्छ तर अब यो प्रज्ञाविहीन संस्था भइसकेकाले त्यसबाट प्रज्ञा पनि झिकेर ‘नेपाल दलेझोले भर्तीकेन्द्र प्रतिष्ठान’ राखेमा नाम सार्थक हुन्छ । शाही नेपाल वायु सेवा निगमबाट शाही झिक्यौँ तर यसमा पनि यतिले पुग्दैन । सेवाभाव नै नभएका संस्थाको नाउँमा सेवा झुन्ड्याइराख्न मिल्दैन, वायुको झनै काम छैन, वायुले सबको आयु खाला भन्ने पिर…यसर्थ यसको नाउँ ‘नेपाल खायु निगम’ राखे हुन्छ । यी दुवैमा अहिलेलाई नेपालचाहिँ राखिछोडौँ तर अवस्था हेरीविचारी ल्याउँदा यसको पनि उति टुङ्गो छैन, भरसक यस्तो दिनचाहिँ नआइदिए हुन्थ्यो…।

अब भ्रष्टाचारको नाउँ दानदातव्य राखौँ, मन्त्रीको नाउँ हन्त्री राखौँ, मन्त्रालयको नाउँ घिचुवालय, विद्यालयको नाउँ सिध्यालय, विश्वविद्यालयको नाउँ भागबन्डालय, शौचालयको नाउँ ढुकुवालय/कुरुवालय, मुत्रालयको नाउँ झुत्रालय, जिएम्को नाउँ एम्जी, सिडिओको नाउँ भिडियो बनाए हुन्छ । यस्तै पुलिसको नाउँ फुलिस… । सुरुमै संशोधनको सर्त राखेर पारित गर्ने र लागु हुन नपाऊँदै वैयक्तिक सनकका भरमा पलपलमा फेरबदल गरिरहने संविधानलाई साउनेधान राखिदिए हुन्छ । यो मन नपरे मार्सीधान राखे नि हुन्छ । अहिलेका कालु पाँडे जति सेतु आँडे बनाइदिए हुन्छ । यस्तै यस्तै कसकसको केके फेर्ने भन्नेबारे नवग्रह मिलाएर एकरात बालुवाघाटमा सुरासुरीसहितको भोजनभट्टका साथ छलफल गरौँला… ।

आजको नारीवादी युगमा पुरुषहरूलाई सारै गाली गरिसकियो । अब त्यहाँ पनि फेरौँ । नारीलाई आजैदेखि पुरुष र पुरुषलाई नारी भन्न थालौँ । त्यसो भए गालीसाली पनि मन्द, प्रतिशतको कुरा पनि बन्द…। कामकाज पनि शून्य । राजा फ्याँक्यौँ, रानी ल्याऔँ । राजालाई रानी बनाई नारीको सम्मान गरौँ । काम थालनीको तरखर भइसकेको देखिँदैछ । कानुन बनाइहालौँ । ढिलो नगरौँ !

हामीलाई ‘राज’ जोडिएका शब्दसँग सारै घृणा भएकाले त्यस्ता शब्द खोजीखोजी फेरौँ । नत्र हिजो तिनै संस्थाबाट ग्रहण गरेको भोजनभट्टसम्बन्धी भेद खुल्नसक्छ यसैले यी काम रातारात गरौँ । राजधानीलाई लोकधानी, राजमार्गलाई लोकमार्ग, राजपथलाई लोकपथ, राजपत्रलाई लोकपत्र, राजदूतलाई लोकदूत वा राँकेभूत, राजस्वलाई लोकस्व, राजालाई लोका, राज्यलाई लोक्य आदि तुरुन्तै गरौँ । मेरा ससुरा राजमानलाई लोकमान, मामा ससुरा राजेन्द्रलाई लोकेन्द्र, काका हरिराजलाई हरिलोक अनि पुत्नेछोरो राजबहादुरलाई लोकबहादुर बनाइहालौँ । यिनका नागरिकता र सर्टिफिकेट पनि फेरिदिऊँ । यस्ता शुभकार्यमा पटक्कै ढिलो नगरौँ, तुरुन्तातुरुन्ती गरिहालौँ … ।

उहिल्यै जङ्गे सानाले पाँचलाई थर्काएर तीन जोडे । अहिलेका ज्ञानी ठान्ने बुद्धु्रहरूले वीर भनिने काँतरहरूको जरोबुटै उखेलेर ठुलै सिकार गरी पुरानो पाँचमा संशोधन गरे । सत्तामा पुगेपछि जोड्ने र फेर्ने क्रम पुरानै भए पनि अहिले फेर्ने काम अलि बढ्तै हुन थालेको छ । विश्व प्रसिद्ध पुराना नाउँहरू पनि प्रतिगामी भन्दै फेरिए । अहिले नेपालको नाउँ पनि ‘नयाँ नेपाल’ भएको छ । नयाँ नेपाल भनेको तेइसे, चौबिसे, एकाउन्ने, बाउन्ने बनाउन खोजेको त होइन होला ! जातीय राज्यका ललिपप पनि उहिलेका कुरा खुइले भइहाले…। यस नयाँको अभिप्राय अब भोजनभट्टको पालो पुरानाको होइन, नयाँको हो भन्ने मात्र भए त केही भन्नु छैन… । नामले मात्र नभएर कामैले साँच्चै नयाँ भए त कुरा ठिकै छ ।

सडकका कुकुर बिरालाहरू सिंहदरबार छिर्ने बित्तिकै आपसमा मित लगाएर भोजनभट्टमा जुट्ने चलन पनि उति नयाँ होइन । अब सिंहदरबारको नाउँ पनि पुरानिएकाले नयाँ नाउँ स्याल गुफा राख्नु उपयुक्त हुन्छ… ।

एक पुस्ता त के सात पुस्तासम्म मुद्दा टाँगिदिने र जनतालाई अनावश्यक दुख दिने कामको प्रकृति हेर्दा न्यायालयलाई खायालय र सर्वोच्चको नाउँ सर्वनीच राख्नु बेस हुन्छ ।

उच्च पदासीनहरू जनताका माग एक हप्तामा पूरा हुने वचन दिन्छन् तर वर्षौँ बितिसक्दा पनि पूरा हु“दैन । अब कति दिनको एक हप्ता हुन्छ भन्न पनि गारो भइसकेकाले हप्ता शब्दै पनि फेरिदिँदा बेस हुन्छ ।

अब सहिद शब्दले पनि अर्थ धान्न नसक्ने भइसक्यो । पहिले ४–५ जना मात्र भएकाले धानेकै थ्यो तर अहिले भिरबाट लडेर, गाडीले किचेर, रूखले थिचेर, पैराले पुरेर, खोलाले बगाएर मरे–मारिएकाजति सबलाई चक्काजामको मात्राका आधारमा सहिद भन्नुपर्ने भए’सी सङ्ख्या निर्धारण गर्नसमेत कठिन भइसकेकाले अलि व्यापक अर्थ दिने अर्कै शब्द खोजौँ । यस्ता पुराना अर्थ दिने शब्दलाई शब्दकोशमा पनि नराखौँ, हटाइहालौँ । यसका लागि सबैभन्दा योग्य मान्छेचाहिँ म नै हुँ नि…चुड्कीका भरमा जेको नि नाउँ फेरिदिहाल्छु, बुझिराखे हुन्छ…। धेरै नपढेको भए नि नाउँ फेर्न र घाँटी सेर्न त म चौपटै सिपालु पो छु त…।

यसरी हरेकको नाउँ फेर्नका लागि नयाँ नेपालको एउटा नयाँ शब्दकोश बनाउन थालौँ । छिटो गरौँ । त्यो कामको व्यवस्थापन गर्ने जिम्मा ‘नेपाल दलेझोले भर्तीकेन्द्र प्रतिष्ठान’का लाउके लिंडेपतिलाई जिम्मा दिऔँ । त्यसो गरे’सि अरू दुईचार लाउकेले जागिर पनि पाउँछन । त्यसमा विशेषज्ञताको कसी दले सदस्यता बनाऊँ । आफ्ना दलको सदस्यता लिएका जतिलाई विशेषज्ञमा भर्ती गरौँ र अरूका दलको सदस्यता लिएका वा कुनै दलको पनि सदस्यता नलिएका जति अल्पज्ञ भनी हटाऊँ… बस, टन्टै खलास ! अनि त्यहाँबाट प्रदान गरिने पुरस्कार, सम्मान पनि तिनै विशेषज्ञलाई दिऔँ… ।

नाउँ फेरानसम्बन्धी यी दुईचार प्रस्ताव मात्र हुन् । धेरैतिर धेरै थोक फेर्नुछ । यसका लागि नाउँ फेरान आयोग गठन गरौँ । नाम फेर्न मात्र होइन भएको संरचना विनिर्माण गर्न पनि म बिछट्टै सिपालु छु । यसर्थ मलाई नाउँ फेरान आयोगको अदक्ष बनाएर केही समय मेरो बेरोजगारी हल गरिदिए मेरो मात्र होइन तपाईँहरूको पनि कल्याणै हुनेछ, चाहिए जति दानदातव्य टक्र्याइहाल्छु… ।

यी सब गन्थनको चुरोचाहिँ के भने अरूको जे गरे पनि प्रतिगामी कालको मेरो नाउँचाहिँ आजैदेखि फेरिपाऊँ भन्ने हो । यत्रा थोक सब फेरिएपछि प्रतिगामी कालमा राखिएको मेरै मात्र नाउँ नफेरेर किन कायम राख्नु ? अतः तत्कालका लागिचाहिँ मेरो प्रचलित नाउँ फेरेर मेरो मनोकाङ्क्षा पूरा गरिपाऊँ प्रभु ! म बहत्तर घण्टासम्म नित्य तिम्रो नाउँ जपिरहन्छु । समय बढाउनु परे नवग्रहको आपसी सहमतिमा पछि पुनर्विचार गरौँला… ! राहु, केतु मुन्साइसकेकाले अब दुख दिन पाइन्न नि…।

========

बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न अनुरोध गरिन्छ कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ धन्यवाद