अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

ह्वाइट हाउसको निशानामा डा. एन्थोनी फाउची

बिआरटीनेपाल २०७७ असार ३० गते ०:४० मा प्रकाशित

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीविरुद्ध ट्रम्प प्रशासन संगठित रुपमा लागेको देखिएको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र डा. फाउचीबिच तनाव उत्कर्षमा पुगेका बेला ह्वाइट हाउसले फाउचीविरुद्ध गोप्य रुपमा संगठित प्रयास गरेको खबरमा उल्लेख छ ।

ह्वाइट हाउस डा. फाउचीको आलोचनामा निरन्तर लागि रहेको छ । यसको प्रमाणका रुपमा ह्वाइट हाउसका अधिकारीले डा. फाउचीले विगतमा गरेका टिप्पणीहरु जो अन्ततः गलत साबित भएका थिए, त्यसलाई एकीकृत गरेर पत्रकारहरुलाई बाँडेका थिए । डा. फाउची अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) का प्रमुख हुनुहुन्छ ।

ह्वाइट हाउसका अधिकारीले बाँडेको सामग्रीमा डा. फाउचीले महामारीको अवधिमा मास्कका सम्बन्धमा गरेका फरक सुझाव तथा कोभिड–१९ को गम्भीरतालाई लिएर गरेका सुरुवाति टिप्पणीहरु रहेका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेका बेला महामारीलाई लिएर गम्भीर रहेका डा. फाउचीलाई ‘बर्खास्त’ गर्ने वा उहाँको प्रतिष्ठा कमजोर बनाउने प्रयासमा ह्वाइट हाउस लागेको बताईएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ एक लाख ३५ हजार पाँच सय भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू