अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

कोरोना संकट ‘झनै खराब भएर जान सक्ने’ डब्लूएचओको चेतावनी

बिआरटीनेपाल २०७७ असार ३० गते ०:२३ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ । सबै राष्ट्रहरूले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जान सक्ने भन्दै डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले सोमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भन्न्ुभएको छ , ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । कोरोना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसो संकट खराब हुँदै जान सक्छ ।’

उहाँले देशहरूले यो महामारी नियन्त्रणका लागि ‘आधारभूत कुराहरुलाई पालना’ नगर्ने हो भने महामारी जारी रहने र यो झनै खराब बन्दै जाने बताउनुभयो । अहिले थुप्रै कमजोरी रहेको भन्दै उहाँले यस किसिमले हुन नहुने उल्ल्ेख गर्नुभयो । ‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उहाँले चेतावनी दिँदै भन्नुभएको छ, ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् । यसमा गम्भीर हुनुहोस् ।’

महामारीको चपेटामा फसिरहेको जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकनै पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी रहेको टेड्रोसको भनाइ छ । त्यस स्थितिमा पुग्नका लागि तीनवटा कुराको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयोे, ‘मृत्युदरलाई घटाउने कुरामा केन्द्रित हुने र संक्रमण दरमा कमी ल्याउने । समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरु अपनाउने बलियो र सक्रिय समुदायको निर्माण गर्ने । र, बलियो सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा । यो गर्न सकिन्छ र गरिनु नै पर्छ ।’

हाल विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३२ लाखभन्दा बढी पुगिसकेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ५ लाख ७४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू