अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

धरानमा वरिष्ठ गायक दीप श्रेष्ठ सम्मानित, पिडितकालागि आर्थिक सहयोग हस्तान्तरण

बिआरटीनेपाल २०७७ असार २९ गते १५:४० मा प्रकाशित

इटहरी, धरानमा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ सम्मानित भएका छन् । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित सँग-संगै उनको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षीय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ । युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले सङ्कलन गरेको २१ हजार नगद साथमा धरान १५ श्याम चोक व्यवस्थापन समूहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको हो ।

होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरूबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया सङ्कलन भएको थियो । बालक मुदेलको दोस्रो चरणको शल्यक्रिया उनको स्वास्थ्य स्थिति हेरी ६ महिनापछि हुने बताइएको छ । ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यक्रिया रहेको चिकित्सकले बताएका छन् ।

सोही कार्यक्रममा नै कोभिड १९ को सुरक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्क समेत प्रदान गरिएको थियो । उक्त मास्क नेपाल पत्रकार महासङ्घका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै क्रियाशील पत्रकारहरूमा मास्क पुर्‍याउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा होटेल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, कार्यक्रम संयोजक मेरिन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया