अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

सती श्राप र नागरिक भूमिका

विराज २०७७ असार २९ गते १५:३३ मा प्रकाशित

‘सती’ भन्ने बित्तिकै हाम्रो मानसपटलमा एउटी पतिव्रता महिला आफ्नो श्रीमानको मृत्यु पश्चात्को अन्तिम कर्मका समयमा आफूलाई पनि त्यसै चितामा श्रीमानको सबसँगै अग्नीदाह भई मृत्युवरण गर्ने चरित्रका रूपमा चित्रित हुन्छ । सारमा सतीको भावार्थमा श्रीमानको सबसँगै आफ्नो जीवनलाई आहुति गरी समर्पण र त्यागको उपमा देखाउने नारीको रुपमानै बुझिन्छ। सतीका विषयमा यसको नाम, सती कर्म र समान प्रकृतिका व्यवहारहरूलाई केलाएर हेर्ने हो भने पूर्व, मध्यपूर्व हुँदै अफ्रिकासम्म अनेकन् समानताहरू पाइन्छन् । यद्यपि अधिक प्रयोग भने निश्चित वर्गहरूमा हुने गरेको पाइन्छ । जस्तै: क्षत्रिय, राजकीय तथा उच्च घरानीया वर्गहरू । प्रारम्भदेखि अन्त्यसम्मको इतिहास हेर्दाचांही यस अभ्यासको प्रभाव अन्य समुदायहरूमा पनि परेको देख्न सकिन्छ । त्यसै गरी बलपूर्वक सतीत्व ग्रहण गराउने प्रचलन बढ्न थालेपछि विकास क्रमले प्रतिबन्धसम्म ल्याइ पुर्‍याएको छ ।

सयौँ वर्ष अगाडि नै प्रतिबन्धित भइसकेको भए पनि छिटपुटरुपमा विगत दशकहरूमा पनि सतीका घटनाहरू, खास गरी भारतका केही प्रदेशहरूमा घटेको हामी पाउँछौँ। सतीका यी सत्यकथाहरु सतीत्व ग्रहण गर्ने कार्यमा मात्र सीमित नरहेर समाजमा विद्यमान रहिआएका श्राप बचनहरूसँग पनि जोडिएर अस्तित्वमा रहेको हामी देख्न सुन्न पांउछौं । ‘श्राप’ स्वतन्त्र अस्तित्वसँगै अनेकन् स्वरूपमा संसारका सबैजसो समाजहरूमा र धार्मिक विश्वासहरूमा उल्लेख गरिएको कुरा समाज बोल्ने क्रसमा होस् वा सबैजसो धार्मिक प्रवचनहरू तथा मार्गदर्शनहरूमा व्याख्या गर्ने गरिएको नै छ । यस सन्दर्भमा ‘सतीको श्राप’ र यसका कारण राज्यलेनै खेप्नुपरेको प्रताडनाको नमूनाभने हाम्रो देशमा विद्यमान छ । यस विषयमा भिन्न विचार वा मत हुन सक्लान्, तर्क वितर्क तथा पक्ष विपक्ष हुन सक्लान् तर सयौँ वर्षदेखि ‘सतीको श्राप परेको देश’ भएको कारण नेपालको यो अवस्था रहँदै आएको भन्ने विश्वास हाम्रो समाजमा विद्यमान छ । अनेकन् परिवर्तन र अभ्यासबाट पनि राष्ट्र र जनताले प्रगतिको द्वार खोल्न नसक्नुमा ‘सतीको श्राप’ ले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने मनोविज्ञान पुस्तौँ पुस्ता सम्म मजबुत रूपमा प्रसारित हुँदै आएको छ । अझ तान्त्रिक रूपमा निर्मित देश भएको कारण नेपालमा तन्त्र, मन्त्र, आशीर्वाद, कामना वा श्राप आदिको प्रभाव अवश्य पनि पर्दछ भन्ने विश्वासको मनोविज्ञान दरिलो गरी बसेको छ । जति नालायक, असक्षम र भ्रष्ट सरकारहरू बन्दछन् त्यति नै मजबुत व्याख्याहरू त्यस कारणका बारेमा गरिन्छन् न की त्यस मनोविज्ञानलाई विस्थापित गर्ने विषयमा ।

यो प्रमाणित सत्य हो की कुनै पनि कुरा जति लामो समय सम्म स्मरणमा रह्यो त्यति नै लामो समय सम्म स्मरणबाट हटाउन लाग्दछ । जसरी बालापनका कतिपय अवस्थाहरू हाम्रो स्मृतिमा ताजै छन् तर केही समय अगाडिका कतिपय अवस्थाहरू विस्मृत भइसके । यो सती श्रापको घटना जुन सामाजिक परिवेशमा भयो, जुन तहको मस्तिष्कको प्रयोग भइरहेको समय कालमा भयो वा जुन विश्वासमय र सम–सहानुभूतिले समाज चलेको अवस्थामा भयो, जुन संस्कार र परम्परामा समाजहरू परिचालित भएको अवस्थामा भयो त्यही तह मानै त्यसलाई हृदयको गहिराइबाट ग्रहण गरियो । त्यही अन्र्तहृदयवाट समान गहिराइमा नव सन्ततिहरूमा पुस्तौँ पुस्ता हस्तान्तरित हुंदैआयो । त्यसैले यो सहज विस्मृतिको विषय बन्न सक्दैन । यो मनोविज्ञानको जरो नउखेलेसम्म त्यसको प्रभावबाट हामी मुक्त हुन पनि सकिँदैन । तसर्थमा सती प्रथा र यसका प्रभावहरूलाई बुझ्न सतीका विभिन्न स्वरूपका अभ्यास, नेपालका सन्दर्भमा सती र सती श्राप एवं यो मनोविज्ञानबाट समाजलाई मुक्त गर्न राष्ट्रवासीको भूमिका आदि विषयमा छलफल, बहस तथा पहलकदमी आजको समय सान्दर्भिक विषयवस्तु बन्नुपर्दछ । मान्यतामा आधारित भएका तर छायामा रहेका यस्ता विषयवस्तुहरूको उत्पत्तिको जानकारी देखि हाम्रो सन्दर्भमा विगतदेखिका सामाजिक प्रभाव र सही सम्बोधन नव निर्माणको क्रममा रहेको राज्यको नाताले पनि नेपालले सामाजिक र राष्ट्रिय महत्त्वको विषयको रूपमा लिनुपर्दछ । जसले राष्ट्रका संस्कृति, मूल्यमान्यता दरिलो राख्नुकासाथै स्वयं राष्ट्रलाईनै एकताबद्ध र मजबुत बनाउँछ । अनि यही जगनै देशको समृद्धिको एउटा मजबुत खम्बा साबित हुनेछ ।

सती श्राप सयौंबर्ष पुरानो भएका कारण जटिल भएका यसका दुस्परिणामहरु सन्दर्भमा केही व्यक्तिले यो परिवेश र धरातलमा उभिएर अविश्वास गर्दैमा प्रभाव विहीन हुने वा कुनै व्यक्तिले सतहीरुपमा मुक्ति भयो मन्दैमा मात्र पनि प्रभाव हट्ने भन्दा राष्ट्रिय कर्मको खाँचो अमूर्त तर जड समस्या बोकेको रोग रूपी श्राप घटनाले बताउँछ । राज्य र शासक वर्ग नै प्रमुख लक्षित भएको कारण श्रापको प्रभाव राज्य, नेतृत्व र पार्टी हुँदै सर्वसाधारणमा आउने यसको प्रकृति भएकोले त्यही तहवाटनै उपचारमार्फत धारणामा परिवर्तन गरेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ।

हामीले आमूल परिवर्तनका नाममा अवलम्बन गरेका क्रियाहरूले वास्तविक रूपमा समस्याको जडको सम्बोधन हुन पाएको देखिँदैन बरु प्रतिकूलता थपिदिएको देखिन्छ । एउटा प्रवृत्तिगत क्रिया बल प्रयोगको हो । बल मत्ता, आतङ्क, अत्याचार, नरसंहार, अन्याय, शक्तिको दुरुपयोग आदिको पर्याय राक्षसी प्रवृत्ति हो । हाम्रा दुई दशकका महत्त्वपूर्ण समय यस्तै प्रवृत्ति र पुनरावृत्तिमा बित्यो । धेरै सोझा साझा जनताहरू पक्ष र विपक्ष भएर मारिए । यसै कालमा धेरै सीमाहरू मिचिए, देशमा उत्पात मच्चियो, हाहाकारको स्थिति उत्पन्न भयो । प्रतिकात्मक रूपमा राम र रावणका तुलनात्मक विषय उठान भए, सितामाथि अन्याय भएको प्रसङ्गहरू एक पक्षीय विद्धानहरूको रह्यो पनि । अहङ्कारले रावणलाई राक्षसी बनायो तर पनि उनी क्षमतावान् थिए र धार्मिक पनि त्यसैले सिता सुरक्षित थिइन । यता गर्भवती सीताको वनवास जनताको चासो र इच्छाको सम्मानको खातिर राजाको त्याग थियो, राज्य र जनताको खुसीका सामु व्यक्तिगत खुसीको राम र सिता दुबैबाट भएको त्याग । त्यस्तै नै राज शिक्षा थियो, त्यही आदर्श पालना गरे उनीहरूले र नै ‘राम राज्य’ बन्यो। हाम्रो आजको शिक्षा फरक बनाइएको छ त्यसैले हाम्रा राम सीताहरू राज्यको दोहन गरेर र जनतामाथि अन्याय नै हुने भए पनि आफू सम्पन्न शाली र शक्तिशाली बन्नुपर्दछ भन्नेछ । साम, दाम, दण्ड, भेद गरेर भए पनि चुनाव जित्नै पर्ने र हार्ने छुट कुनै हालतमा नभएको भन्ने चिन्तन राजनीति शिक्षाका रूपमा प्रशिक्षण भएको छ, राजनीति कमाउनीतिको साधन बनेको छ । विचार, सिद्धान्त वा वैचारिक आस्था आफैँमा परस्परमा सहअस्तित्वपूर्ण हुन सक्दछन् । तर जुन प्रवृत्ति र व्यवहारहरू आन्दोलनका क्रममा विचारका नाममा भए र बहुपक्षीय आतङ्कको सिर्जना हुने स्थिति बन्यो त्यो देश र समाजकालागि अभिशाप बनेको नै हो ।

अर्को प्रवृत्तिगत क्रिया प्रचलनहरूलाई विस्थापित गर्ने, जसले संस्कार, परम्परा, संस्कृति, धर्म, भाषा, भेष, सामाजिक अनुशासन आदि जीवन सम्पदाहरूलाई कमजोर बनाएको छ । हाम्रा मौलिक पहिचानबाट टाढा बनाइरहेको छ। यी सवैमा अर्थ थिए । यस्ता अभ्यासहरूले स्वस्थ जीवनका साथमा, परिश्रमलाई सम्मान गर्छ, अनेकन् तवरले भएको प्राप्तिमा सवैपक्षप्रति कृतज्ञ हुन्छ, समाजलाइनै अनुशासित बनाउँछ, प्रकृतिका सबै तत्त्वहरूलाई सम्मान गर्छ र नै सम्पूर्ण जीवन र पर्यावरण सन्तुलन हुन्छ । हामीले पुर्खाले बर्सौँ लगाएर पत्ता लगाएका यस्ता प्रचलनहरूलाई घृणा र हेलाका साटो विज्ञान सम्मत ढङ्गले व्याख्या गरेर सम्पदाका रूपमा गौरव किन नगर्ने ? यस्ता सामाजिक प्रचलनरूपी हजारौँ मौलिक सम्पदाहरूको खोजी, सङ्कलन तथा समयानुकूल व्याख्या सहित समाजलाई अनुशासित र आधुनिक विकास सँगै आफ्नो मौलिक पहिचानयुक्त बनाउन तर्फ लाग्नु हामी सबैको जिम्मेवारी होइन र ?

देशको सर्वतोमूखी विकासको अपेक्षामा हामीले प्रयोगहरू धेरै गर्‍यौँ, धेरै प्रधानमन्त्री र मन्त्रीहरू भए, हजारौँ सांसद सभासदहरु बनाइए तर सबल नेतृत्व देशले पाउन सकेन र जनताले सन्तोषको सास फेर्न पाएनन् । राजनीतिलाई भ्रमपूर्ण बनाउने, नेतृत्व र पार्टीहरूले जनतालाई भूलभुलैयामा पारेर फाइदा लिने काम मात्र भएको केही दशकको इतिहास बताउँछ । सक्षम, देश प्रेमी र जन उत्तरदायी नेतृत्व खट्किएको यो समयले देखाउँछ । हामी लामो समयदेखि राज्यमाथिको श्रापको धरातलमा रहँदाकै अवस्थामा नेतृत्वको इच्छा शक्तिको कमी, आत्मविश्वास कमजोर हुँदा बढेको परावलम्बन, व्यक्तिगत आकाङ्क्षा टेकेर आएका छिमेकीका दुष्ट्यांईपूर्ण व्यवहारका ऐतिहासिक श्रृखंला, सामरिक महत्त्वको रणभूमि बन्दै गर्दा कमजोर र आसे मानसिकता भएका नेतृत्वले निम्त्याएका समस्याहरूले देश दिनप्रतिदिन कमजोर बनेको छ । यसै बिचमा पनि प्रगतिशील मार्ग उन्मुख हुनका निम्ति सतीको श्राप बाधक बन्दै गरेको बुझाइको स्पष्टोक्ति आमूल परिवर्तनकारी नेतृत्वबाट हुनुले समस्याको मूल जड तर्फ उन्मुख भएको भने जनाउँछ। यसर्थ परम्परागत वा रुढीवादी चिन्तनको पिरलो छ भने पनि विना हिचकिचाहट नेतृत्वले विज्ञानवादी दृष्टिकोणसाथ देशलाई श्रापमुक्त गर्न मनोवैज्ञानिक उपचारमा लान जरुरी छ । यो पहलकालागि कार्यक्रम खाका र विधियुक्त कर्ता समूहहरूको आधार जनस्तरमा तयार भइरहेको छ ।

हरेक व्यक्तिमा विद्यमान सबल र दुर्बल पक्ष कहिल्यै सबल वा दुर्बल मात्रभन्दा सबल र दुर्बल दुवै हुन्छन् किनकि हामी कहिले सबल र कहिले दुर्बल देखिन्छौँ मात्र सापेक्षिकताका कारण । व्यक्तिलाई झैँ राज्यलाईपनि मिश्रित ढङ्गले बुझ्न जरुरी हुन्छ। खास गरी नेपाल जस्तो दुई विशाल देश बिचको गौरवशाली देश सामरिक हिसाबले दुई छिमेकीको तुलनामा कम महत्त्वको छैन । प्राचिनतम सभ्यता देखि पौराणिक अभ्यास हुँदै आजसम्म आइपुग्दा यो भू–क्षेत्रको योगदान उल्लेख्य रहँदै आएको छ । त्यसैले आत्मविश्वास साथ हामीसँग विद्यमान रहेका हाम्रा मौलिक रूपका हजारौँ स्थूल एवं जीवन सम्पदाहरूलाई सबल पक्ष र सम्पदाका रूपमा प्रयोगमा लिई यिनको सदुपयोगबाट मौलिक ढंगलेनै अग्र गति लिने सम्भावनाहरू रहन्छन् र खोज्नु पनि पर्दछ ।

त्यसैले मौलिकता तथा स्वावलम्बन हुँदाका शताब्दीका कला, संस्कृति, परम्परा, नागरिकका सुखानुभूति, स्वस्थता, प्राकृतिक शौन्दर्यता, इमानदारिता, आस्था र प्रकृति प्रतिको सुमधुरतायुक्त जीवन, नैतिकता, बहादुरीको परिचय आदि अनेकन् सु परिचय राखेका पुर्खाका सन्तान त्यही र तीनै अवशेषहरूको प्रदर्शन गरेर र शुल्क उठाएर खाने भन्दा आफ्नो युगको परिचय दिने गरी हामीले के निर्माण गर्ने भनेर सोच्न ढिलो हुँदै गएको छ । सन्ततीकालागि उत्साह, उमङ्ग, नवीन मार्ग, विशेष पहिचान, उद्यम, प्रकृति संरक्षण के दिनेछौँ त भनेर सोच्नुपर्ने बेला भैसकेको छ ।

अब हामीमा रहेका मूर्त र अमूर्त शक्तिहरूलाई एकत्रित गरेर देशलाई मूल मार्गमा ल्याउनु पर्दछ । विभेद, घृणालाई त्याग्दै र वर्गीय एवं वैचारिक आस्थालाई थाती राखेर देशको साझा सवालमा समावेशी रूपमा सबै एकठाँउमा बसेर छलफल नगरे इतिहास र वर्तमानको तुलनाले घृणाको पक्ष बदलिन सक्छ, समय एकनास हुँदैन । हिजो जे भए पनि दोषारोपण गर्न छाडेर ‘साझा देश साझा सरोकार’ को अवधारणामा साथै उभिनु पर्दछ । नेतृत्वले एकापसमा क्षमाशील भई देश र जनतासँग पनि क्षमा माग्दै छिटो भन्दा छिटो सबै सरोकारवालाहरू बसेर मन पखाल्न र साझा मुद्धाहरु तय गर्न जरुरी छ । अरू कमजोर देखिन उसको निन्दा वा भर्त्सना भन्दा आफूले त्यो भन्दा राम्रो गर्न नसके नोक्सान आफ्नो नै हुन्छ । त्यसैले पनि दोषारोपणले भन्दा सवैका सबल पक्षहरू सहितको सहकार्यले बरु शुरक्षण प्रत्याभूत हुन सक्दछ र मानव हृदयको पनि विकास हुन्छ। यसले मौलिकताका साथ राष्ट्रिय क्षमताको सयौँ गुणा अभिवृद्धि हुन्छ, अनेकन् आपत् झेल्दै पनि राष्ट्रिय स्वावलम्बन मजबुत हुन जान्छ । यसकालागि जनता कष्ट खेपेर पनि देशवचाउन र बनाउन तयार हुनेछन् । यो भूगोलको सम्भावना र अवसरलाई लिएर हजारौँ योजना वा कार्यक्रमहरू लगानीका साथ राज्यले छरिएर रहेका नेपाली वाट प्राप्त गर्न सक्दछ । त्यो क्षमता नेपालीहरुमानै विकसित भइरहेको छ ।

हामी पुर्खाले तयार गरिदिएको स्वाभिमान र नैतिकताको आधारमा उभिन पाएकाछौं । यसलाई मजबुत बनाउने जिम्मेवारी हाम्रो हो । हामीले गल्ती गरिरहेका छौँ, यसबाट सिकेर क्षमा याचना गर्दै सच्चिएर हाम्रो शिर झुक्दैन बरु उँचो हुनेछ । राज्यले मेरालागि मैले पाउनुपर्ने सवै चिज दियो । बरु मैले राज्यलाई के दिए? मेरो कारणले राज्यमाथि कस्तो प्रभाव प¥यो? कहीँ मेरा कारण र व्यवहारबाट वा मेरो सिको र ईश्र्यागरेर अरू कसैबाट राम्रो वा नराम्रो के भयो ? समग्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युगको परिचय दिने देशका कला, संस्कृति, धर्म, संस्कार, परम्परा, राज्य प्रेम, व्यक्तिगत देखि परिवार र सामाजिक अनुशासन, उद्यम, राष्ट्रिय पहिचान हुने कार्यहरू, राष्ट्रलाई टेवा पुग्ने कार्य आदि के कस्ता क्षेत्रमा सकारात्मक योगदान दिन सकियो की सकिएन भनेर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ। मानिसबाट कमीकमजोरी अवश्य हुनसक्छन, त्यसकालागि क्षमा याचना र पुनरावृत्ति नहुने वचन साथ देशका निम्ति कुनै पनि तरिकाले योगदानको सङ्कल्प आवश्यक भएको अनुभूति समयको आवश्यकता पनि हो ।

तसर्थमा उल्लेखित विषयवस्तुहरूलाई थप छलफलको विषयका रूपमा ल्याउन र सम्बोधनको निष्कर्षमा पुग्ने वातावरण तयार गर्दैलान यो आलेख लक्षित छ । त्यही जिम्मेवारी बोध नै यो आलेखको प्रारम्भ विन्दु हो र यस आलेखमा सङ्कलित वा संयोजित घटना र विचारहरू परिष्कृत र परिमार्जित गर्दै सबल प्रस्तोताहरू मार्फत निष्कर्षसाथ आउने अपेक्षा पनि आलेखको अन्तर्य हो । तसर्थ पनि सतीका श्रापका अवस्था, यसका मनोवैज्ञानिक असर तथा यो मनोवैज्ञानिकताले प्रभावित पार्ने सामाजिक एवं राष्ट्रिय स्थिति, मनोवैज्ञानिक असरबारेका विज्ञान सम्मत पुष्ट्यांई र सघन उपचारको आवश्यकताबारे छलफल गर्ने प्रयासको थालनी यस लेखनले गर्न खोजेको छ । यो राष्ट्रिय तहको सघन उपचारको विधिमा हरेक नागरिकको भूमिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रहने हुँदा सबै नागरिकहरूको सकारात्मक सोचको आवश्यकता र प्रत्यक्ष परोक्ष सहयोग अपेक्षित छ ।

 

===============
साभार: सती, सती श्राप र नागरिकहरूको भूमिकाबाट

हाल क्यालिफोर्निया
जुलाई, २०२०

प्रतिक्रिया