अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

नेपाल जन सम्पर्क समिति अमेरिका प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७७ असार २८ गते १५:२३ मा प्रकाशित

प्रेस विज्ञप्ति
नेपाली जनसम्पर्क समिति,अमेरिकाको नाममा विगत केही दिनदेखि सामाजिक सञ्जाल र केही अनलाइनमार्फत सार्वजनिक भइरहेका समितिका आन्तरिक विषयप्रति हामी गम्भीर भएका छौँ । यस किसिमका भ्रामक र कपोलकल्पित समाचारका प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि संस्थाका आफ्ना प्रक्रिया र पद्धति हुन्छन् । अनुशासन,विधि,प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी जे जसरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामक गतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति,अमेरिका कार्य समितिका पदाधिकारी,सदस्य,सबै च्याप्टर नेतृत्व, आम सदस्य र शुभेच्छुकहरूलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्ससमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको र सोही कानुन अनुसार नै वैधानिक हैसियतमा रहेको प्रस्ट छ । हामीले न्यूजर्सीमा एकता प्रक्रियामा सहमति गरेर हस्ताक्षर गर्दै गर्दा टेक्ससमा दर्ता कायम रहेको संस्थाको वैधानिकतालाई स्वीकार गर्ने र सोही अनुसार तत्कालीन दुवै समितिको विधानलाई समेटेर एउटा विधान बनाई सन् २०१४ मा एकताको अधिवेशन गरिएको अभिलेख सुरक्षित छ । तसर्थ यस बारे अहिले जुन किसिमले भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ त्यो नितान्त साङ्गठनिक हित विपरीत रहेको छ र यस्तो भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्दछौँ।

नेपाली जनसम्पर्क समितिको तीन वर्षे कार्यकाल सकिएको विषय भएता पनि यस समिति नेपाली काँग्रेसको इकाई भएकोले काँग्रेसको आन्तरिक निर्देशन र परिपत्र हाम्रा मार्ग निर्देशन हुन् । सोही अनुसार नेपाली काङ्ग्रेससँग समन्वय गरी सन् २०१७ को भर्जिनियामा सम्पन्न पहिलो वार्षिक साधारण सभाको म्यान्डेट अनुसार हामीले अधिवेशन गर्न पहल गरेको प्रस्ट पार्न चाहन्छौँ । तर त्यो बेला अहिले अधिवेशन गरेन भनेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने समितिभित्रकै केही साथीहरूले अधिवेशन रोक्नका लागि पार्टी नेतृत्वबाट पत्र ल्याएर अधिवेशन प्रक्रिया रोक्न लगाएको हामी स्मरण गराउन चाहन्छौँ । यसरी अधिवेशन प्रक्रिया रोक्नेहरूले अहिले अधिवेशन गरेन भनेर आरोप लगाउनु आफैँमा गैर जिम्मेवारपन देखिन्छ ।

पछिल्लो पटक २०७६ भाद्र १७ गतेको काँग्रेस केन्द्रीय समितिको बैठकले कार्यकाल सकिएका जनसम्पर्क समितिहरूको अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गर्न समितिलाई कार्तिक ५,२०७६ का मितिमा लिखित निर्देशन प्राप्त भएको र सोही अनुसार यस समितिले ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको हामी स्मरण गराउन चाहन्छौँ । सोही अनुसार समितिको फेब्रुअरी ५,२०२० का मितिमा सम्पन्न बैठकले मार्च २८ र २९,२०२० का मितिमा सबै च्याप्टरहरूको अधिवेशन सम्पन्न गर्ने र अप्रिल ११ र १२,२०२० का मितिमा समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि नेपाली काँग्रेस केन्द्रीय समिति समक्ष सहमति लिने निर्णय भएको हो । सोही मितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिक समिति,सदस्यता वितरण तथा छानबिन समिति,प्रचार प्रसार समिति, अनुगमन समिति,व्यवस्थापन समिति र परामर्श समिति गठन गर्ने निर्णय गरेको समेत स्मरण गराउन चाहन्छौँ । समितिले साधारण सदस्यता र पार्टीको क्रियाशील सदस्यता वितरणको तयारी समेत पुरा गरिसकेको हामी प्रस्ट पार्दछौँ।

फेब्रुअरी ५ ,२०२० को यही निर्णय अनुसार नेपाली काँग्रेस केन्द्रीय समिति समक्ष समितिको केन्द्रीय अधिवेशनको प्रस्तावित मिति अनुमोदन र अन्य प्रक्रियाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको परिस्थितिका बिच विश्व महामारी कोरोना सङ्क्रमणको अवस्था भयावह हुन थालेपछि नेपाली काँग्रेसले आफ्नो १४ औँ महाधिवेशन सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको समेत सबैलाई अवगत नै छ । स्थिति सामान्य हुनासाथ पार्टीको निर्देशन अनुसार अवरुद्ध अधिवेशन प्रक्रिया सुचारु गर्न समिति प्रतिबद्ध रहेको र यसका लागि पार्टीसँग समन्वय पनि भइरहेको जानकारी गराउँछौँ।

नेपाली काँग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर सङ्गठनको मूल्य,मान्यता र पद्धति विपरीत सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिने अधिकार नेपाली काँग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ । यस्तो सबै वैधानिक प्रक्रिया जारी रहेको अवस्थामा केही साथीहरूले भ्रम सिर्जना गरेको प्रस्ट छ । हामी साङ्गठनिक हित,एकता,संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिबद्ध रहन सबैलाई आग्रह गर्दछौँ ।
गलत र आधारहीन हल्लाका पछि नलाग्न सबै साथीहरूलाई पुनः एक पटक अनुरोध गर्दछौँ ।

जय नेपाल ।

आनन्द विष्ट
अध्यक्ष, नेजस अमेरिका
एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली काँग्रेस

मुनीन्द्र नेम्वाङ्ग
महासचिव

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू