अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

२४ मुलुकबाट २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३८ मा प्रकाशित

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू