अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो

बिआरटीनेपाल २०७७ असार २७ गते ०:१८ मा प्रकाशित

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप ३ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१०, शंखमूलका ६० वर्षीय एक पुरुष, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ४५ वर्षीय एक पुरुष र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय एकजना पुरुष रहेका छन् ।

यसैबीच, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना कोरोनामुक्त हुँदा कोरोना निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ४८ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको जनाइएको छ । हाल देशभर २४ हजार ९७ जना ‘क्वारेन्टिन’मा रहेका छन् भने ८ हजार २ सय ३९ जनाको विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू