अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

दिपा श्री निरौलाले अभिभावक खोज्दा तुच्छ गाली गलौच सुन्नु पर्‍यो

बिआरटीनेपाल २०७७ असार २६ गते १६:०५ मा प्रकाशित

काठमाडौँ – केही दिन यता महानायकको विषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेकी दिपा श्री निरौलालाई एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गाली गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ सङ्केत भने पक्कै होइन, अभिव्यक्ति स्वतन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि विषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो । दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् । उनी कलाकार मात्र नभएर एक नारी हुन् भने कसैको छोरी पनि हुन् । विगत ३ दशक देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेर चलचित्र क्षेत्रको बृहत्तर हितको लागि उनले पनि योगदान पुर्याउदै आएकी सर्वविदितै छ ।

दिपा श्री निरौलाको एक टेलिभिजन अन्तरवार्तामा महानायक होइन भनेको शब्द छैन ! महानायक हुनुहुन्छ र भनेको शब्दलाई लिएर धेरै टिका टिप्पणीहरू आइरहेको छन् भने एक नारीको अस्मिता माथि नै धावा बोल्दै तल्लो स्तरको अपशब्दहरू सामाजिक सञ्जाल भरि छ्याप-छ्याप्थी भरिएका छन् । यही विषयलाई लिएर उनले सामाजिक सञ्जाल मार्फत पटक पटक आफ्ना शुभचिन्तकहरू समक्ष माफी समेत माग्दै मेरो आशय यस विषम परिस्थितिमा महानायक जस्तो व्यक्तिले खुलेर देश समाजको लागि आउनु पर्थ्यो भन्ने हो भनेर धेरै पटक स्पष्टीकरण समेत दिइसकेकी छिन ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल नै महानायक हुन् भन्ने कुरामा दुई मत छैन, चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप उनले पाएको पद महानायक आफैमा एक गौरव समेत हो। यो ठुलो विषय पनि थिएन कि दिपा श्री निरौलाको अन्तरबार्तालाइ लिएर एक नारीको अस्मिता, चरित्र माथि नै प्रश्न चिन्ह खडा गर्ने र तथानाम भन्ने अधिकार पनि कसैमा छैन। उनले महानायकको सक्रियता खोजेर, एउटा अभिभावक खोजेर के गल्ती गरिन र ? हामी एक सभ्य नागरिक भएको हैसियतले एक नारीको सम्मान गर्दै त्यस्ता अपशब्दहरू प्रयोग गर्नु हुदैंन भन्ने आम नेपालीको चाहना हो र अहिलेको आवश्यकता पनि हो । मुलुक अहिले कोभिड-१९ र लकडाउनले गर्दा कमजोर अर्थतन्त्र, राजनीतिक किचलो तथा सामाजिक अस्थिरतामा लडिरहेको बेला हामी सर्वसाधारण जनता कुन बाटोमा हिँडिरहेको छौँ, हामी कस्तो-कस्तो कुरामा समय बर्बाद गर्दै एक नारीको विरुद्ध, एक कलाकारको चरित्र हत्या, मानहानिमा लागिरहेको छौ । उनले पटक पटक नेपाली जनता समक्ष आफ्नो अभिव्यक्ति राख्दै विषम परिस्थितिमा सम्पूर्ण चलचित्र कर्मीको अबिभाबक भूमिका निर्वाह गरिदिन आग्रह गरेको कुरा प्रस्ट छ । तसर्थ हामीले सकारात्मक पक्षलाई समेट्दै ऊर्जाशील समयमा संयम हुँदै, गाली गलौच, अपशब्दहरू नबोली समस्याको समाधान तर्फ उन्मुख हुनु जरुरी देखिन्छ । यस्ता शब्दहरूले देश समाज र परिवारलाई समेत ठुलो असर पर्छ भने हामी कुन समाजमा हुर्किरहेका छौँ भन्ने समेत प्रस्ट्याउँछ ।

हिजो सम्म नेपाली राष्ट्र, राष्ट्रियता तथा सरकार प्रमुखको विपक्षमा अनेक थरी लाञ्छना लगाउने भारतीय मिडियाहरू नेपालमा प्रतिबन्ध लागाइयेको परिपेक्षमा नेपालमा भित्रनै यस्तो घटिया अपशब्द बोल्ने, कमेन्ट गर्नेहरूलाई समेत कानुनको दायरामा ल्याउनु पर्ने आजको आवश्यकता भएको छ । सभ्य समाज निर्माण गर्न हामी सबै एकजुट हौँ, कुनै कुरा गलत लागेमा सभ्य तरिका बाट नै त्यसको प्रतिरोध गरौँ तर कोही कसैको चरित्रहत्या गर्न, मानहानि गर्न र गाली गलौंज अपशब्दको प्रयोग नगरौँ ।

प्रतिक्रिया