अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

वर्षाका कारण करिब ५ सय मेगावाटका जलविद्युत् आयोजना बन्द, विद्युत् आपूर्ति अवरुद्ध हुने

बिआरटीनेपाल २०७७ असार २६ गते १:३३ मा प्रकाशित

अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहबाट क्रमशः करिब २४०/ २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिनुभयो ।

बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं ।’ उहाँले थप्नुभयो,‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’

उहाँले बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको दाबी गर्नुभयो । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युतगृह आज बिहान ८ बजेबाटै बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युतगृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट विद्युतगृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । भारी वर्षाले इलामको सिद्धिथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्ने हुँदा विद्युत् आपूर्तिमा समस्या भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू