अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

अविरल बर्षासंगै पोखराका विभिन्न स्थानमा पहिरो, कम्तीमा ७ जनाको मृत्यु, केही घाईते

बिआरटीनेपाल २०७७ असार २५ गते २२:०७ मा प्रकाशित

पोखरा महानगरपालिकाका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर कम्तीमा ७ जनाको ज्यान गएको छ । पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् । यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन् । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन् । घाइते सबैको मणिपाल र गण्डकी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएको बेला पहिरो खसेको थियो ।

यसैगरी, पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् । पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ । त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू