अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

मैले सोध्न बाँकी प्रश्न

आचार्य प्रभा २०७७ असार २५ गते ८:३० मा प्रकाशित

लघुकथा –

संसारमा घटिरहेका जातीय विभेदको पराकाष्ठा नाँघीरहेको बेला उस्ले पनि त्यसबिरुद्ध आवाज बुलन्द गर्न थाल्यो।जातीय विभेदको आशय नै कालो/सेतो रङ्गबिचको विभेद थियो । उ’पनि त्यही दुईमध्येको एक रङ्ग थियो । जसलाई आफ्नो देशमा इतिहासदेखि विपरीत रंगकाले हेर्ने दृष्टिकोण फरक थियो।तर विदेश पसेपछि भने उसलाई त्यस्तो महसुस भएकै थिएन सायद ।

एक दिन संस्थाकै बृहत् कार्यक्रममा सबै जना भेला भएका थिए । म पनि उक्त कार्यक्रममा पुगेकी थिएँ । मैले कालोरंगमा सेतो थोप्ला भएको साडी लाएकी थिएँ । हुन त कालो रंगलाई अनेकौँ परिभाषामा उतारेका छन् मान्छेहरूले । अशुभ रङ्ग/विरोधको रङ्ग अर्थात् कालो रंगलाई हेर्ने प्रवृत्ति नै हेपाहा छ ।भन्छन् कतै साइत पारेर जानु पर्‍यो भने कालो रङ्गको लुगा नलाउनु । तर मलाई भने सबैले हेपेको रङ्ग कालो अति प्रिय लाग्छ । जसमा केही अरू रङ्ग छाँयामा लतपतिएको होस् तर कालोकै बोलवाला होस् ।

म छेउको कुर्सीमा बसिरहेकी थिएँ । कार्यक्रमको आधाउधीमा उ मेरो नजिक आयो र भन्यो । “क्या हो तपाई र फलाना त यो कार्यक्रमको विरोधमा हो कि क्या हो ? दुवै जना कालै रङ्गको साडीमा हुनुहुन्छ ? “म अनुत्तरित भएँ।मैले जवाफ दिने मौका नपाई उ त्यति भनेर हिँडी हाल्यो ।

यो समय देश/विदेश जहाँतहीँ कालो रङ्ग र सेतो रङ्गबिच काटमार भइरहेछ।कालोरंगआफुहरु हेपिएको,कुल्चिएको विरोधमा उत्रिई रहेछन्।यो हुनु स्वाभाविक पनि हो। सही सोच्ने हो भने “रङ्गमा होइन मान्छेको सोचमा परिवर्तन हुनु पर्छ ।”

उ पनि कालो रङ्गको पक्षमा उभिनु स्वाभाविक हो किनकि आफू पनि त्यही प्रताडित रंगकै एक अङ्ग हो । उ वकालत गरी रहेछ । यो समय सेतै रङ्गको विरोधमा । यति बेला म सम्झिँदै छु । “उ कालो रङ्गको पक्षधर हो वा सेतो रङ्गको विरोधी हो भने किन त्यो समय मैले लाएको कालो वस्त्रमा मेरो मुटु कुँडिने बचनबाण प्रहार गर्‍यो ? आखिर आफैले कालो रंगप्रति वितृष्णा, घृणा पाल्ने हो भने उ आफू स्वयंले आफैलाई बहिष्कार गरेको ठहरिन्न र ? “म यो प्रश्न ऊसँगै सोध्न आतुर छु विगतको उसको सोचलाई सम्झेर ।

 

*  (अमेरिका )