अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

अपरिभाषित परिभाषा

युवराज मैनाली २०७७ असार २५ गते ८:२१ मा प्रकाशित

जहाॅं छैनन् –
साल, सिसौ र सल्लाका बोटहरू
जहाॅं छैनन् –
समी, वर र पिपलका बोटहरू
जहाॅं छैनन् –
स्याउ, सुन्तला र आँपका बोटहरू
त्यहाॅं बनमारा नै
उम्रिए पनि बोट हुन्छ
त्यहाॅं अडिर नै उम्रिए त झन्
त्यसको भाउ कति बढ्छ, बढ्छ !!
मानमा त्यो
कति उकाली चढ्छ, चढ्छ !!

मरुभूमिको तातो बालुवामा
भारी थिचिएर
भाषाविना वेदना व्यक्त गर्न नसकी
आफ्नै आँसुले तिर्खा मेट्दै
वाष्पयुक्त कुहिरीमण्डल आकाशमा पनि
कतै शीतल जल दिने
दयालु बादल छ कि भन्दै
माथि हेर्दै
अररो घाॅंटी तन्काइरहेको
त्यो पीडैपीडाको प्रतिमूर्ति
ऊॅंटले पनि
अग्लाइमा बाजी जित्न सक्छ !

जहाॅं शिखरहरू
उचाइमा एक अर्कामा प्रतिस्पर्धा गरिरहेका छन्
त्यहाॅंका ती
उच्च शिखरहरूका फेदीमै
भुसुना झैँ
बिलाउॅंदैन र त्यो ऊॅंटको उचाइ ?

ए, बुद्धि विनिमय गरिरहेका- मान्छे हो !
ज्ञानका कति सिन्धु निलेका छौ – तिमीले ?
सगरका कति ताराहरू गनेका छौ – तिमीले ?
पैताला कुन जमिनमा टेकेका छौ ? तिमीले ?
अनि मात्र घोषणा गर –
उभिॅंदा कति हो – तिम्रो अग्लाइ ?
पसारिॅंदा कति हो – लम्बाइ ?

भन त,
सिॅंगले भित्ता भास्दै
आफ्नै जिउभरि धुलो छरिरहने
पुच्छर ठड्याएर डुक्रिरहने
परस्पर आँखा तरिरहने
त्यो साॅंढे
तिम्रो परिभाषामा
कति विशाल हो ?
कति महान् ?

*******
धुम्बाराही, काठमाडौॅं ।