अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

ओली–प्रचण्डको सहमति नमान्ने नेता माधव नेपालको घोषणा

बिआरटीनेपाल २०७७ असार २३ गते २२:३९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच निकास दिने प्रयाश जारी रहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो सहमतिबिनाको निश्कर्ष नमान्ने घोषणा गर्नुभएको छ । सहमतिको खाका बनाउन अध्यक्षद्वयले अनौपचारिक रुपमा चार सदस्यीय टीम बनाएपछि आफू निकट स्थायी कमिटीका नेताहरुसँग नेता नेपालले यस्तो बटमलाइन सुननाउनु भएको हो । नेपाल निकट एक नेताका अनुसार अध्यक्षद्वयले बनाएको टीममा आफ्ना पक्षका कोही नभएको भन्दै नेता नेपालले अध्यक्ष प्रचण्डमाथि गम्भीर आक्षेप लगाउनु भएको छ । ‘यो त बेइमानी भयो सिधा(सिधा, प्रचण्डले धोका दिए, ओलीसँग मात्रै सहमति गरेर मैले किन मान्नु ?’ नेता नेपालको बटमलाइन सुनाउँदै ती नेताले भनेका छन्, ‘मलाई पार्टीमा ओली र प्रचण्डकै जस्तो अधिकार र हैसियत चाहिन्छ, केपी र प्रचण्डको माथि, हामी चाँहि तल भन्ने स्वीकार गरिन्न ।’

नेकपाभित्रको बिवाद गम्भीर मोडमा पुग्दा नेता नेपालले आफूहरुसँग बहुमत रहेकोले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने निर्णय गर्न अर्का अध्यक्ष प्रचण्डमाथि दवाव दिँदै आउनु भएको छ । ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने नेता नेपालको योजना रहेको छ । पछिल्लो पटक सहमतिको खाका बनाउने टीममा दुई अध्यक्षको मात्रै नेता छनोट गरेपछि नेपाल प्रचण्डसँग आक्रोशितसमेत बन्नुभएको ती नेताले बताएका छन् ।

पार्टी एकता गर्दाको सहमति र बिधानको ब्यवस्था बिपरित गएर एकता महाधिवेशन अगावै आफूलाई अध्यक्षकै हैसियतमा अधिकार चाहिने अडान नेपालले राखेपछि अध्यक्ष प्रचण्ड नै झस्कनु भएको छ । नेकपा एमालेको महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजीत हुनुभएका नेता नेपालले अहिले ओली हटाएर आफू सो पदमा पुग्नका लागि आवश्यक सवै हतकण्डा अपनाइ सक्नुभएको छ । दुई अध्यक्षबीच मनमुटाव हुँदा मिलाउने भुमिका खेल्नुका साटो जसरी पनि जुधाएर फाइदा लिने, त्यस्को लागि पार्टी नै बिभाजन भए पनि फरक नपर्ने लाइनमा उहाँ उभिदै आउनु भएको छ ।

पछिल्लो पटक नेपाल र झलनाथ खनासहितका सवै नेताहरुले अध्यक्ष प्रचण्ड नै आफूहरुको मुल नेता रहेकोले अर्का अध्यक्ष ओलीसँग गर्ने सहमति मान्य हुने बताउनु भएको थियो । ललितपुरको भेलामा अध्यक्ष प्रचण्डले एक एक नेतासँग प्रश्न सोध्दा नेपाल र खनालले पनि दुई अध्यक्षको सहमति मान्ने घोषणा गरी आफूहरुको मुल नेता प्रचण्ड नै रहेको स्वीकार गर्नुभएको थियो । ओली र प्रचण्ड मिल्नै नसक्ने निश्कर्षका साथ सहमति गरेका नेताहरुले अव दुई अध्यक्ष मिल्नेतर्फ अग्रसर भएसँगै फेरि भाँडने अभियान थाल्नुभएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड मिल्न लाग्दा नेता नेपाललाई निकै तनाव बढेको पनि ती नेताको भनाई छ ।

ती नेताका अनुसार नेता नेपालले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये आफूलाई एक पद चाहिने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । यो बटमलाइनसँगै निर्वाचित नेतृत्वलाई कु गरेर बीचैमा पद हत्याउनका लागि एक ब्यक्ति एक पदको कुरा उठाइएको तथ्य उजागर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू