अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

समाजवादी पार्टीकी सरिता गिरी पार्टी र सांसद दुवैबाट निष्काशित

बिआरटीनेपाल २०७७ असार २३ गते ७:१९ मा प्रकाशित

समाजवादी पार्टी नेपालले सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो। पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उहाँलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि गिरीले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको थियो । समाजवादीले महासचिव यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले छानविन प्रतिवेदन आजै पार्टीलाई बुझाएको थियो। पार्टी निर्णयअुनसार अब सांसदबाट हटाउनका लागि समाजवादीले संसद सचिवालयलाई पत्र पठाउने र उक्त जानकारी सचिवालयले निर्वाचन आयोगलाई दिएपछि गिरी पदमुक्त हुनुहुनेछ । समाजावादी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद बन्नुभएको थियो । उहाँ वैवाहिक अंगीकृत नागरिक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू