अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रियो, देशैभर भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ असार २३ गते ०:१२ मा प्रकाशित

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएको छ । मौसमविद मीनकुमार अर्यालका अनुसार देशभर नै अहिले मनसुन सक्रिय रहेको छ । उहाँका अनुसार सोमबार पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रिएको छ । त्यसैले केही दिन पूर्वको तुलनामा पश्चिमी भेगमा बढी वर्षा हुने सम्भावना देखिएको अर्यालले बताउनुभयो ।

मनसुन थप सक्रिय बनाउने न्यूनचापीय रेखा पूर्व र पश्चिमबाट नै नजिक आउँदै गरेको छ । “मनसुनी रेखा माथि सर्दैछ, जसका कारण असार २५ गतेदेखि विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भन्नुभयो । प्रदेश–५, गण्डकी प्रदेशसहित पश्चिमतिर बढी केन्द्रित देखिएको छ । प्रदेश–१, २ र बाग्मतीसहित अन्यत्र पनि केही भेगमा भारी वर्षा हुने देखिएको छ । स्थानीय वायुको पनि प्रभाव रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको भनाई छ ।

मनसुनको विगत २० दिनको अवस्था हेर्दा गत वर्षभन्दा यसपालि बढी वर्षा भइरहेको छ । गएको वर्ष १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । आइतबार कञ्चनपुर क्षेत्रमा सबैभन्दा धेरै १११ मिलिमिटर पानी परेको रेकर्ड थियो । विगत २४ घण्टामा देशका विभिन्न भेगमा रहेको ९९ वटा केन्द्रमा पानी परेको रेकर्ड छ । जसअनुसार सबैभन्दा बढी दैलेखमा ६४.४ मिलिमिटर पानी परेको छ । अन्य ६ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । त्यस्तै २३ वटा केन्द्रमा २५ मिलिमिटर बढी र ४० वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी पानी परेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू