अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति, अनशन स्थगित

बिआरटीनेपाल २०७७ असार २३ गते ०:०६ मा प्रकाशित

कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् ।

सत्याग्रही युवा र सरकारबिच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ । होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ ।

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्नेसहित सहमति भएको छ । युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू