अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

विदेशबाट श्रमिक उद्धार गरिरहेका बेला नेपालमा रोजगारीमा जान धमाधम श्रम स्वीकृति

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२९ मा प्रकाशित

सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला वैदेशिक रोजगारीमा जान पनि खुला गरेपछि पछिल्लोसमय वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिनेको भिड देखिएको छ। विभागले गत शुक्रबारदेखि श्रम स्वीकृति दिन थालेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नयाँ श्रम स्वीकृति नदिईएपनि पुन श्रम स्वीकृति मात्र दिइएको छ। विभागले करार अवधि बाँकी रहेका, विदामा आएका र भिसाको अवधि बाँकी रहेकालाई पुन श्रम स्वीकृति दिइरहेको छ।

सोमबारसम्म ३ सय ५९ जनाले पुन श्रम स्वीकृति लिएका छन्। त्यसमा २ सय ९१ पुरुष र ६८ जना महिला छन्। विभिन्न १९ देशका लागि पुन श्रम स्वीकृति दिइएको छ। यूएईका लागि एक सय ५७, जापानका लागि ४८, कतारका लागि ४६, मलेसियाका लागि २३, माल्टाका लागि २४ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ५१ जिल्लाका छन्। काठमाडौंका ५०, काभ्रेका २२, नुवाकोटका २६ तथा सिन्धुपाल्चोक, बागलुङ र चितवनका २०÷२० जनाले श्रम स्वीकृति लिएका छन्।

मालदिभ्सका लागि २ जना, पोल्यान्डका लागि ६ जना, इजरायलका लागि ८ जना, बहराइनका लागि ८ जना, ब्रुनाईका लागि पाँच जना, चेक गणतन्त्रका लागि २ जना, मकाउका लागि ९ जना, ओमान र दक्षिण कोरियाका लागि ३÷३ जना, सिसेल्सका लागि २ जना तथा लिथुवानिया, सेनेगल र युगाण्डाका लागि एक एक जनाले पुन श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिएको तीन महिनाभित्र रोजगारीका लागि गइसक्नुपर्छ नत्र पुन श्रम स्वीकृति लिनुपर्छ।

विभागका महानिर्देशक दाहालले लकडाउन अघि दैनिक २७ सय जनाले श्रम स्वीकृति लिने गरेको जानकारी दिनुभयो ।गत फागुन २८ गतेदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

प्रतिक्रिया