अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

कोरोना संक्रमण – रूसलाई पछि पार्दै भारत उक्लियो तेस्रो स्थानमा, झण्डै ७ लाख संक्रमित

बिआरटीनेपाल २०७७ असार २२ गते ०:५८ मा प्रकाशित

भारतमा कोरोना भाइरस संक्रमण झन् बढ्दै गएको छ । त्यहाँ संक्रमितको ७ लाख नजिक पुगेको छ । सोमबार बिहानसम्म भारतमा ६ लाख ९७ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यससँगै भारत रुसलाई पनि पछि पार्दै विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा तेस्रो स्थानमा रहेको छ । आइतबार साँझदेखि नै भारतले रूसलाइ पछि पारेको हो । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा आइतबार मात्रै २३ हजार ९३२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार पनि त्यहाँ २४ हजार १५ नयाँ संक्रमित फेला परेका छन् थिए । आइतबार कोरोना संक्रमणका कारण त्यहाँ ४२१ जनाले ज्यान गुमाएका छन् । शनिबार पनि ६ सय १० जनाको मृत्यु भएको थियो । भारतमा एकै दिनमा संक्रमित एवं मृत्यु हुनेको हालसम्मकै उच्च संख्या शनिबार नै पुष्टि भएको हो ।

अहिलेसम्म त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १९ हजार ७०० पुगेको छ । तर त्यहाँ दैनिक रूपमा निको हुने क्रम पनि बढिरहेको छ । आइतबार मात्रै १५ हजार ९२९ जना संक्रमणमुक्त भएको जनाइएको छ । अहिले भातरमा २ लाख ४५ हजार ५६३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी हालसम्म कुल ४ लाख २४ हजारभन्दा बढी मानिस सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारत सरकारले १ जुनदेखि लकडाउनलाई खुकुलो पारेसँगै तथा कोरोना परिक्षणको दायरा पनि बढाएसँगै दैनिक संक्रमण हुनेको संख्या वृद्धि भइरहेको बताइएको छ । हाल त्यहाँका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च देखिनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमणको पछिल्लो ट्रेन्ड हेर्दा भारतमा कोरोना तत्काल नियन्त्रणमा आउने देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू