अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

डा. डी आर उपाध्यायले गिनिज अफ वर्ल्डमा कीर्तिमानी कायम गरे

बिआरटीनेपाल २०७७ असार २१ गते ११:१० मा प्रकाशित

काठमाडौँ, २१ असार / गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै यती बेला गिनिज अफ वर्ल्ड रेकर्डमा एउटा गीत मार्फत आफ्नो नाम लेखाएका छन् । यस अघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायले यस पटक ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वल्र्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् ।

शनिवार बेलुका काठमाडौँमा सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका गीतका उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गीत अफ रेकर्ड सहित १५ वटा विश्व कीर्तिमानी कायम गरेको भन्दै उनलाई बधाई ज्ञापन गरे । यस्तो रेकर्डले विश्वमा नेपालका नाम फैलनुका साथै यसले नेपालीको गौरव बढाएको पनि उनले बताए । मन्त्री यादवले आगामी दिनमा अझ धेरै रेकर्ड राख्न भन्दै शुभेच्छा प्रकट गरे ।

गीतिसँग्रह ‘मायाको सागर…’मा यो गीत सँग्रहित छ । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । यो गीतलाई सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डा. डीआर उपाध्यायले स्वयंले गाएका हुन् । मायाको सागर गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापनिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको हो । यसरी एउटै गीतलाई १२ भाषामा तयार पारेर उनले गिनिज अफ वर्ल्डमा नाम दर्ता गराएका हुन् ।

कार्यक्रममा बोल्दै गीतकार डा. उपाध्यायले आफूले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएको बताए । उनले देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको बताउँदै अरू भन्दा केही फरक गीत लेखेर गिनिज अफ वर्ल्ड रेकर्ड सहित १५ ओटा विश्व कीर्तिमानी कायम गर्दै नेपाललाई विश्वमा चिनाउने काम गरेको बताए । अझै आफूले अरू १० वटा विश्व रेकर्डको तयारी गरेको र त्यसमा केही गिनिज अफ वर्ल्ड रेकर्ड पनि भएको बताए ।

गीतकार डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक्’, ‘सहेली’, ‘सौभाग्यको सिन्दूर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौँ गीत सार्वजनिक छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘दगा बाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘बज्र घात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायले माया प्रेम, रोमान्स, बिछोडदेखि स्वास्थ्य र योगसम्मका गीत लेखेका छन् ।

केही समय अगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित डा. उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले अवार्ड पाउने गरेका छन् ।

गीतकार डा. उपाध्यायले गीत लेखेर एकपछि अर्को कीर्तिमान सहित वर्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वर्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ड रेकर्ड, इन्डिया स्टार वर्ड रेकर्ड, एक्सक्लुसिभ वर्ड रेकर्ड, जीनस वर्ड रेकर्ड, एभरेष्ट वर्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

 

प्रतिक्रिया