अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

खुसी भए विद्यानाथ कोइराला

सरस पाण्डे २०७७ असार १८ गते ९:३१ मा प्रकाशित

विश्व कोरोना भाइरस (कोभिड –१९) को कारण त्रासदीय अवस्थामा पुगेको छ । मानिसहरूका दैनिकी पहिलेजस्तो सामान्य छैनन् । सामान्य बन्न कति समय लाग्ने हो भन्ने कुनै टुङ्गो छैन । घरबाहिर बसेर काम गर्ने मानिसहरू कामकाज छाडेर घर फर्केका धेरै समय भइसक्यो । केही समय परिवारसँग र खेतीपातीतिर लागेर मन भुलाइरहेका उनीहरू फेरि अर्को सलहको आतङ्कले भय त्रस्त बनेका छन् । दिनानुदिन बलात्कार, हत्याजस्ता विभिन्न निन्दनीय घटनाहरू घटिरहेका छन् । राजनीतिक अस्थिरताको कारण देश कुन बाटोमा हिँड्दैछ कसैलाई पत्तो छैन । यी यस्तै विभिन्न कारणले सबै मानिसहरू भयभीत भएका छन् । यी र यस्ता परिस्थितिहरूका कारण अहिलेको समय रोग, भोक र शोकले आक्रान्त बनेको छ ।

यस्तो विषम परिस्थितिमा पनि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले भने देशभरि नै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । चैतबाट भएको लकडाउनको समयदेखि हालसम्म सङ्गठनले हजारौँ कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । शिक्षकको पेसागत क्षमतालाई वृद्धि गर्ने उद्देश्यकासाथ सुरु गरिएको कार्यक्रमहरू अहिले पनि विभिन्न जिल्लाहरूमा चलिरहेका छन् ।

सङ्गठनले असार सात गतेदेखि कार्यक्रम पहिलेभन्दा फरक ढङ्गले सुरु गरेको छ । शिक्षण पेसालाई प्रविधि मैत्री बनाउने उद्देश्यकासाथ सङ्गठनले इलाम जिल्लाबाट सूक्ष्म शिक्षण अभियान २०७७ (Micro -Teaching Marathon 2020) सुरु गरेको हो । इलाममा सात दिन फरक फरक शिक्षकहरूद्वारा विभिन्न विषयमा सूक्ष्म शिक्षण गरियो । ती शिक्षणहरूमा विभिन्न विषयका विज्ञद्वारा समीक्षासमेत गरियो । सो कार्यक्रम इलाममा सम्पन्न भएपश्चात् अहिले सोही अभियानलाई जिल्ला समिति मोरङले निरन्तरता दिइरहेको छ ।

मोरङले सञ्चालन गरेको छैटौँ दिन (असार १८) को कार्यक्रम सङ्गठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अतिथि सङ्गठनकै राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा रहेको कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले समीक्षा गर्नुभयो । कोइरालाले समीक्षाको क्रममा कक्षा प्रस्तुत गर्ने सबैलाई बधाई दिँदै प्रविधि मैत्री कक्षा प्रस्तुति देख्न पाउँदा आफू खुसी भएकोसमेत बताउनुभयो । उनले सरकारी विद्यालयका शिक्षकहरू निदाएका रहेनछन् भन्दै उपलब्धिमूलक कार्यक्रम गरेकोमा मोरङलाई बधाईसमेत दिनुभयो । कार्यक्रममा कक्षा प्रस्तुति सामाजिक विषयमा झङ्कप्रसाद पराजुली, अङ्ग्रेजी विषयमा बिना लामिछाने र तीर्थराज ढकालले दिनुभयो । मोरङको कार्यक्रम १९ गते समापन हुने र सोही अभियानमा रहेर २० गतेदेखि झापा जिल्लाले सुरु गर्ने जानकारी राष्ट्रिय अध्यक्ष शर्माले गराउनुभयो ।