अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

पार्टीभित्रको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री ओलीले गरेको मध्यमार्गी प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५६ मा प्रकाशित

पार्टीभित्र जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको मध्यमार्गी प्रस्ताव पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ । ओलीको प्रस्ताव लिएर उहाँ पक्षका नेता आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । तर प्रचण्डले प्रस्ताव अस्वीकार गरेको खुमलटारबाट निराश फर्किएका ओली पक्षीय नेताले बताएका छन् ।

नेकपाभित्र दाहाल र माधव नेपाल पक्षले जारी स्थायी समिति बैठकबाट ओलीलाई दुवै पदबाट राजीनामा गराउने तयारी थालेपछि ओली पक्षीय नेता प्रचण्ड निवास पुगेका थिए । ओलीको सन्देश लिएर नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले प्रचण्ड समक्ष सरकार र पार्टी सञ्चलानमा भएका कमी कमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिपरिषद् बैठक समेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लगेका थिए ।

तर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गराउन सक्रियता पूर्वक लागेको दाहाल–नेपाल पक्षले सो प्रस्ताव अस्वीकार गरेको हो । उनीहरुले बुधबार बेलुका ललितपुरस्थित एक रेष्टुरेन्टमा भेला भएर शक्ति प्रर्दशन गरेका थिए । उक्त भेलामा ओली इतरका सबै स्थायी समिति सदस्यको उपस्थिति थियो । नेकपा स्थायी समितिका ४५ जना सदस्यमध्ये दाहाल र नेपाल पक्षमा रहेका ३० जना स्थायी समिति सदस्यको त्यहाँ जम्मा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू