अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

ट्याक्सी चालकहरु आन्दोलनमा

बिआरटीनेपाल २०७७ असार १६ गते ७:३१ मा प्रकाशित

लामो समय ‘लकडाउन’ हुँदा ट्याक्सी चलाउन नपाएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । लामो समय काम गर्न नपाएका ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका छन् । तर, माग सुनुवाइ नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघले १५ गतेसम्म माग सम्बोधन गर्न समय दिएपनि सरकारले बेवास्ता गरेपछि ब्यवसायीहरुले विरोध गरेका हुन् । उनीहरुले विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत् सरकारलाई बुझाएका छन् । लामो समयदेखि कायम रहेको लकडाउनका कारण ट्याक्सी सञ्चालन गर्न नपाएका व्यवसायीलाई बैंकले ऋणको किस्ता तिर्न ताकेता गर्न थालेपछि सरकारलाई दबाब दिएका हुन् ।

सरकारले आफूहरुका माग तत्काल पूरा नगरे काठमाडौं उपत्यकामा रहेका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने अवस्था आउने व्यवसायीहरुले चेतावनी दिएका छन् । निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्नेजस्तो गरी सरकारले व्यवहार गरेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू