अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

कोरोना संक्रमणले शरीरका अंगअंगमा पार्ने बैज्ञानिकहरुको अध्ययन निश्कर्ष

बिआरटीनेपाल २०७७ असार १६ गते ०:११ मा प्रकाशित

चिकित्सकहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। तर ६ महिनाको कोरोना महामारीको गहन अनुभवबाट वैज्ञानिकहरू नयाँ निष्कर्षमा पुगेका छन् । डाक्टर तथा सरूवारोग विशेषज्ञहरूका अनुसार यो भाइरसको असर संक्रमित व्यक्तिको श्वासप्रश्वासमा मात्र सीमित छैन। यसले अरू विभिन्न किसिमका स्वास्थ्य समस्या पनि ल्याउँछ। तीमध्ये केही समस्या त बिरामी र हाम्रो समग्र स्वास्थ्य प्रणालीमा लामो समय रहिरहन सक्छ भन्ने देखिएको छ। उपचार तथा अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसले बिरामीलाई सास फेर्न गाह्रो हुनुका साथै विस्तारै शरीरका अरू अंगमा पनि आक्रमण गर्छ। कतिपय अवस्थामा शरीरका अरू अंगमा नराम्रो हानि पुर्याएको पाइएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक अनुसन्धान संस्थाका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. इरिक टोपो आफ्नो अध्ययनको निश्कर्ष सुनाउँदै भन्नुहुन्छ, ‘सुरूमा हामीलाई यो श्वासप्रश्वास प्रणालीमा आघात पार्ने भाइरस हो भन्ने लागेको थियो। अनुसन्धान गर्दै जाँदा हामीले देख्यौं, यसले बिरामीको पित्तथैली, मुटु, कलेजो, मस्तिष्क, मिर्गौलालगायत शरीरका अन्य थुप्रै अंगमा असर पार्दो रहेछ ।’

उहाँका अनुसार, कोभिड–१९ संक्रमित बिरामीमा रगत जम्ने समस्या देखिएको छ, जसले हृदयघातको सम्भावना बढाउँछ। यसले शरीर सुन्निनुका साथै विभिन्न अंगहरू फेल भएका उदाहरण छन्। यसले मान्छेको स्नायु प्रणालीलाई पनि असर पार्छ। बिरामीलाई टाउको दुख्ने, रिंगटा लाग्ने, स्वाद र गन्ध हराउने तथा आफूले राम्ररी जानेको विषयमा पनि अलमलिने लक्षण देखाउँछ । भाइरस संक्रमणको असर बल्झिएपछि उपचार प्रक्रिया अत्यन्तै सुस्त, अपूर्ण र खर्चिलो हुने उहाँले बताउनु भएको छ ।

सिकागोस्थित नर्थवेस्टर्न मेडिसिनका मुटुरोग विशेषज्ञ डा. सादिया खान कोभिड–१९ को असरलाई ‘विशिष्ट’ मान्नुहुन्छ । ‘विगतमा इन्फ्लुएन्जाले मुटुरोग भएका बिरामीलाई जटिल समस्या ल्याएको थियो,’ डा खानले भन्नुभएको छ, ‘कोभिड–१९ ले पनि फोक्सोबाहेक शरीरका अन्य अंगहरूमा गम्भीर समस्या पारेको पाइएको छ।’

सबभन्दा ठूलो कुरा त, संक्रमणबाट निको भइसकेपछि पनि असर रहिरहन सक्छ। कुनै बिरामीलाई केही सातासम्म सघन उपचार कक्ष वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छ भने भेन्टिलेटरबाट बाहिर निस्केपछि पनि उसलाई सामान्य अवस्थामा फर्कन समस्या लाग्ने डा. खान बताउनुहुन्छ । उहाँको अध्ययनअनुसार, एकदिन भेन्टिलेटरमा राख्नुपरेको बिरामीलाई सामान्य अवस्थामा फर्कन सात दिनसम्म लागेको पाइएको छ। ‘धेरै उमेरका बिरामीलाई सामान्य अवस्थामा फर्कन झनै गाह्रो हुन्छ। कतिपय बिरामी फेरि पुरानो अवस्थामा फर्कन सक्दैनन्,’ उहाँले भन्नुभयो ।

अस्पताल भर्ना गर्नुपर्ने गरी बिरामी नभएका व्यक्तिमा पनि कोभिड–१९ को असर लामो समय रहेको पाइएको छ। संक्रमित भएको महिनौंसम्म बिरामीको शरीरमा कोभिड–१९ को असर कायम रहेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका सरूवा रोगसम्बन्धी सह–निर्देशक जे बट्लरका अनुसार कोरोना संक्रमणको दीर्घकालीन असरबारे अध्ययन जारी छ। ‘कोभिड–१९ ले शरीरका अन्य अंगहरूमा पनि असर पु¥याउँछ भन्ने विभिन्न घटनाबाट देखिएका छन्,’ उहाँले भन्नुभयो, ‘यसको असर कति लामो समय रहन्छ भन्ने टुंगो छैन। यसबारे थप अध्ययन हुनुपर्छ।’

अक्सफोर्ड विश्वविद्यालयका डा. हेलेन स्यालिसबरीले ब्रिटिस मेडिकल जर्नलमा यसबारे अनुसन्धान रिपोर्ट लेख्नुभएको छ। कोरोना भाइरसको लक्षण सामान्यतया दुई वा तीन सातासम्म रहने भए पनि प्रत्येक १० जना बिरामीमध्ये एक जनामा लामो समय लक्षण देखिएको हेलेनको रिपोर्टमा उल्लेख छ। आफूले उपचार गरेका अधिकांश बिरामीको छातीको एक्स–रे सामान्य रहेको र कुनै पनि अंग नसुन्निएको भए पनि उनीहरूलाई सामान्य अवस्थामा फर्कन समय लागेको डा. हेलेनले बताउनु भएको छ ।

‘कोही मान्छे पहिले साताको तीनचोटि पाँच किलोमिटर दौडिन्थ्यो भने कोरोना संक्रमणपछि उसलाई एकछिन भ¥याङ चढ्दा पनि सास फुल्ने समस्या देखिन सक्छ,’ उहाँले लेख्नुभएको छ, ‘कसैलाई लामो समय खोकी निको नभएर नियमित काम गर्न समस्या हुन सक्छ। यस्तो भएपछि बिरामीलाई आफू पहिलेको अवस्थामा फर्कन सक्दिनँ कि भन्ने डरले गाँज्छ।’

नर्थवेस्टर्न मेडिसिनका स्नायु तथा सरूवा रोग विभाग प्रमुख डा. इगोर कोराल्निकले पनि कोभिड–१९ संक्रमित बिरामीहरूमा देखिएको समस्याबारे अध्ययन गर्नुभएको छ। संक्रमणपछि अस्पताल भर्ना भएकामध्ये करिब आधा बिरामीमा मस्तिष्कसम्बन्धी समस्या देखिएको उहाँको अध्ययनले देखाएको छ। यसमा रिंगटा लाग्ने, दिमाग सतर्क राख्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न नसक्ने, स्वाद र गन्ध हराउने, मस्तिष्कघात हुने, शारीरिक कमजोरी तथा मांसपेसी दुख्ने प्रमुख रहेका छन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू