अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

कोरोना सङ्क्रमण देखिएपछि चीनको हिबेई प्रान्तमा लकडाउन, झण्डै ४ लाख मानिस प्रभावित

बिआरटीनेपाल २०७७ असार १५ गते ३:०५ मा प्रकाशित

चीनको राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि कडा रुपमा लकडाउन गरिएको छ । लकडाउनको कारण झण्डै चार लाख मानिस प्रभावित भएका छन् । यो लकडाउन हिबेई प्रान्तको एनसिनमा लगाइएको हो, जुन राजधानी बेइजिङ नजिक पर्छ ।

गएको वर्षको अन्त्यतिर चीनबाट नै कोरोना सङ्क्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा सङ्क्रमणको दर कम हुँदै गइरहेको छ । तर सङ्क्रमणको दोस्रो लहरको आशङ्काको कारण कोरोनालाई लिएर सरकार सतर्क भएको छ भने चीनका स्वास्थ्य अधिकारीहरुले पनि यसलाई निकै गम्भीरतापूर्वक लिएका छन् ।

चिनियाँ अधिकारीहरुले एनसिनमा पूर्णरुपमा घेराबन्दी गरिने र सबै कुरा नियन्त्रणमा हुने आइतबार नै बताएका थिए । आवश्यक सेवासँग जोडिएका व्यक्तिलाई मात्र घरबाहिर जान अनुमति हुनेछ तर घरको अरु आवश्यक सामान लिनको लागि एक जना व्यक्तिमात्र घरबाहिर जान पाउनेछ । यदि कसैले नियमको उल्लङ्घन गरेमा ती व्यक्तिलाई प्रहरीले कारबाही गर्ने अधिकारीहरुले चेतावनी दिएका छन् । एनसिन राजधानी बेइजिङबाट एक सय ५० किलोमिटर दक्षिणमा पर्छ ।

अन्य धेरै देशको तुलनामा कोरोना सङ्क्रमणको दर चीनमा निकै कम छ । तर पछिल्लो समय राजधानी बेइजिङमा सङ्क्रमण देखिन थालेपछि चिनियाँ अधिकारी चिन्तित बनेका छन् । चीनमा अहिलेसम्म ८३ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू