अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

सलह नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण, नियन्त्रण गर्न सकिने बिज्ञहरुको ठहर

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२३ मा प्रकाशित

देशका बारा, पर्सा र रुपन्देहीलगायतका जिल्लामा शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुको छ ।

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्नसक्ने कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो । सोमबार (भोलि) सम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म सलह पुग्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

८–१० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुई–चार लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।अहिले डराउनैपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुवाँ लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो । सलह किरालाई बिहान विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८–९ बजेपछिमात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५–६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

यसैबीच, कास्कीको पोखरामा पनि सलह भटिएको छ । पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पुष्टि भएको पोखरा महानगरपालिका, कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उहाँको भनाइ छ । चितवन र खोटाङमा पनि सलह देखापरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू