अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

“दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ, तर म हट्नेवाला छैन” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गर्नुभयो ।

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै उहाँले अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा हटाउन खोजिएको गुनासो गर्नुभयो । वर्तमान सरकार ढाल्ने प्रयत्न जारी रहेपनि नेपालको राष्ट्रियता त्यति कमजोर नरहेको र आफ्नो भूमि समेटिएको नक्सा छाप्दैमा सरकार नढल्ने प्रधानमन्त्रीले दावी गर्नुभयो । उहाँ अहिले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेखे ठिक हुने चेतावनी समेत दिनुभएको छ ।

ओलीले प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन आफुलाई मन नरहेको तर अहिलेको अवस्थामा पदबाट पनि नहटेने स्पष्ट पार्दै आफु पदबाट हटे नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको स्पष्ट पार्नुभयो । नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने उल्लेख गर्दै उहाँले नक्सा भूलचुकले नछापिएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू