अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईंदै

बिआरटीनेपाल २०७७ असार १४ गते ०:४२ मा प्रकाशित

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । ‘मदन भण्डारी फाउण्डेशन’ले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । भण्डारीको जन्म जयन्तीका कारण यही असार १० गतेदेखि चलिरहेको नेकपाको स्थायी कमिटी बैठक आज स्थगन गरिएको छ ।

फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफुलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रीत कार्यक्रम गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहसँग कोरोना भाइरसबाट सङ्क्रमित नागरिकको व्यवस्थापन र हेरचाहमा सहयोग गर्ने, यातायात क्षेत्रमा परेको असरबारे अन्तरक्रियाको आयोजना गर्ने र आज संक्रमणका कारण उपचारमा रहेका र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु राखिएका छन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू