अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

शेयर बजार मंगलबारदेखि खुल्ने, अब कर्फ्यू नै लागे पनि बन्द नहुने

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१६ मा प्रकाशित

शेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । तर त्यसलाई औपचारिकता दिन बोर्डको सञ्चालक समितिको बैठक आइतबार बस्दैछ । आइतबारको बैठकले शेयर बजार खुला गर्ने सम्बन्धमा निर्णय गर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिनुभयो ।

अब बजार खोल्दा सामान्य अवस्थाझैं बजार खुल्ने कि लकडाउनको बीचमा खुलेको बजारजस्तै व्यवस्था गर्ने भन्नेमा अहिलेमा आइतबारको बैठकमा छलफल हुनेछ । सामान्य अवस्थाअनुसार बजार सञ्चालन भयो भने बजार ५ घण्टा खुल्नेछ । स्क्रिपको मूल्य १० प्रतिशतसम्म र इन्डेक्स ६ प्रतिशतसम्म घटबढ हुन सक्नेछ ।

तर विशेष परिस्थिति अन्तर्गत बजार खुला गर्ने हो भने दिनको २ घण्टामात्रै कारोबार हुनेछ । त्यस्तै, यसअघिजस्तै दिनको २ प्रतिशत भन्दा बजार घटबढ हुन सक्ने छैन । तर बोर्ड अब सामान्य अवस्था अनुसार दैनिक ५ घण्टाको दरले कारोबार गर्ने पक्षमा रहेको अध्यक्ष ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू