अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

घाँटीमा जन्तर लगाएर कोरोना भाग्दैन – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ असार १३ गते ६:५७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले कोरोना भाइरस पर भाग्ने भन्दै लगाएको कोरोना जन्तर अर्थात ‘कोरोना ब्लकर’ प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस सम्बन्धी नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना ब्लकर कार्डप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।

देशका प्रतिष्ठित व्यक्तिका गलामै प्रमाणित हुँदै नभएको र अहिलेसम्म निर्माणको प्रयासमा पनि नरहेको कार्ड झुण्डिएको उल्लेख गर्दै मन्त्रालयले कोरोना प्रतिरोधी त्यस्तो प्रकारको कुनै पनि कार्ड अहिलेसम्म नबनेको र त्यसले कोरोना नरोक्ने बरु ती कार्डमा भएका केमिकलका कारण फोक्सो तथा मुटुमा समस्या हुन सक्ने डा. गौतमले बताउनुभयो ।

नेकपाको शुक्रबारको बैठकमा स्थायी समितिका सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने भन्दै आइडी कार्ड जस्तो ‘कोरोना जन्तर’ घाँटीमा झुण्ड्याउन दिइएको थियो । त्यसको सर्वत्र आलोचना भएको छ । त्यसका बाबजुद शनिबारको बैठकमा पनि केही सदस्यले सो जन्तर लगाएका छन् ।

शुक्रबारको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले ‘कोरोना भाइरस नजिक आउन नदिने’ भन्दै सो जन्तर बाँड्नुभएको थियो । शुक्रबारको तुलनामा कोरोना भगाउने भनेर दिइएको कार्ड लगाउने नेताको संख्या भने आज केही कम देखिएको छ । डब्लुएचओले बारम्बार कोरोना भाइरससँग जोडिएर हुने अफवाह वा संक्रमणबाट जोगाउने भन्दै प्रयोग गर्न लगाइने अप्रमाणित कुनै पनि औषधि वा चिजको पछि नलाग्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू