अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

अर्को युद्ध

कमला न्यौपाने २०७७ असार १२ गते २०:५८ मा प्रकाशित

अरू युद्ध भन्दा भिन्न
बिना कुनै शंखघोष
बिना कुनै सचेत
बिना बिकुल बजाई
कोलाहल र भिडमा
अदृश्य भै
चर्काइ रहेछ यो युद्ध
एक सूक्ष्म
मायावी राक्षसको रूप लिई
उत्रेको छ विध्वंसमा
यो अर्को युद्ध

न कुनै बारुद गोला
न कुनै सिपाहीको तैयारी
न त युद्ध मैदान
देखी रहेकी छु वीर योद्धा
छन् कहीँ धाईते
अनि कहीँ सहिद
लाग्छ आज संसारै युद्ध भूमि
यो अर्को युद्ध

अनभिज्ञ हुन खोजी
आँखा छोपी कान बन्द ग़र्दापनी
रोदन र चीत्कारले
चारै तीर फ़ैलीएको छ
यो भय भय
लाग्छ यो महाभारत भन्दा पनि भयङ्कर युद्ध हो
यहाँ सूर्यास्त पछिको विसर्जन छैन
युद्ध चली रहेछ
एक पछि अर्को
यो अर्को युद्ध

उफ्
म कापी रहेछु
भाबिस्यलाई सम्झी
सपनाहरूमा पनि झस्की रहेछु
भोलिको परिणामलाई सम्झी
कहीँ युधिष्ठिर कै
विजय झेल्न नपरोस्
यही कामना गरी रहेछु
यो अर्को युद्ध

विकल्प खोजीमा
कोही कैदी छन्
कोही रामवाण खोजीमा लागी रहेछन्
भने कतै कृष्ण-सारथि खोजी रहेछन्
अनि कोही
शान्तिको दूत गौतम बुद्ध खोजीमा छन्
हर असम्भवमा सम्भवको ज्योति खोजी रहेछन्
यो अर्को युद्ध

कोही भन्छन्, यो युद्ध नै हैन
कोही भन्छन् युद्ध सकिएको छैन
म भन्छु, अब युद्ध सुरु हुन्छ
नयाँ समाज र नवीकरणको
यो अर्को युद्ध!!