अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

’क्वारेण्टीनमा व्यवस्थित र सुरक्षित बसाइको व्यवस्था गरियोस’–संसदीय समिति

बिआरटीनेपाल २०७७ असार १२ गते ६:५३ मा प्रकाशित

महिला तथा सामाजिक समितिले क्वरेण्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वरेण्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि निर्माण भएका क्वारेण्टीन पूर्णरुपमा महिलामैत्री नभएको कारण यौनजन्य हिंसाका घटना बढेकोले मर्यादित र सुरक्षित क्वरेण्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

सांसदहरुले क्वरेण्टीन व्यवस्थित नभएको र गर्भवती महिलाहरुको पीसीआर परीक्षण समयमै नहुँदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेशनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महिलाहरु रहेको क्वरेटीनको सुरक्षाको लागि महिला प्रहरीको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

सांसद हिरा गुरुङले क्वरेण्टीनमा महिलामाथि हिंसाको घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । क्वरेण्टीनमा सुत्केरी महिलाले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले मन्त्रालयको तर्फबाट के–कस्तो सहयोग भइरहेको छ भन्नुभयो ।सांसद महेन्द्रकुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनामा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताउनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्समेत सहभागी कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वरेण्टीनमै महिलामाथि हिंसाका घटना बढिरहेको भए पनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताउनुभयो । लकडाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभए पनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले महँगा कार्पेट किन्नुभन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीयस्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू