अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

लिभरपुललाई ३० वर्षपछि इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि

बिआरटीनेपाल २०७७ असार १२ गते ६:५१ मा प्रकाशित

लिभरपुलले ३० वर्षपछि इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । बेलायती फुटबलको इतिहासकै सर्वाधिक सफल टोलीमध्यको एक लिभरपुलले सन् १९९० यता प्रिमियर लिगको उपाधि जित्न सकेको थिएन ।

त्यसअघि भने लिभरपुल १८ पटक इंग्लीश च्याम्पियन बनेको थियो । प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई हराएपछि लिभरपुलले उपाधि पक्का गरेको हो । सिटी विरुद्धको खेल चेल्सीले २–१ ले जित्यो ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डे ब्रायनले एक गोल फर्काए । तालिकाको दोस्रो स्थानमा रहेको सिटीको हारपछि शिर्ष स्थानको लिभरपुलले उपाधि जितेको हो ।सिजनमा ७ खेल बाँकी छँदा यी दुई टोलीबिच २३ अंकको दुरी रहेको छ । लिभरपुलले उपाधि जितेसँगै क्लबका हजारौं समर्थक एन्फील्ड अगाडि उभिएर विजयउत्सव मनाएका छन्।

शहरका मेयर र क्लबका अधिकारीहरुले कोरोना त्रासका कारण भिडभाड नगर्न गरेको आग्रह वेवास्ता गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । समर्थकहरुलाई धन्यवाद दिन खेलाडीहरु एलिसन, भर्जिल भान डाईक र अक्सलेड चेम्बरलिन पनि उपस्थित भएका थिए । लिभरपुलले पछिल्लो ३० वर्षमा प्रिमियर लिग नजितेपनि दुई पटक च्याम्पियन्स लिग, एक पटक युएफा कप, चार पटक लिग कप र तिन पटक एफ.ए कप जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू