अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

नेपाल आतंकवादीका लागि उर्वर भूमि होइनः अमेरिका

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४४ मा प्रकाशित

अमेरिकाले नेपाल आतंकवाद र आतंकवादीका लागि उर्वर भूमि नभएको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले तयार पारेको आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा नेपाल आतंकवादका लागि उर्वर भूमि नभएको जनाइएको हो ।‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा भने प्रयोग गर्न सक्ने खतरा भने देखाइएको छ । गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने खतरा प्रतिवेदनमा औल्याइएको हो । अमेरिकाको विदेश मन्त्रालयले वर्षेनी विभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी अमेरिकी संसदमा पेश गर्ने गरेको छ ।

नेपालको राजनीतिक हिंसाको आकार सानो परिमाणमा मात्रै रहेको र तिनका आक्रमण मुख्यरुपमा भौतिक पूर्वाधार, सरकारी कार्यालय वा राजनीतिक दलहरु वा तीनका पदाधिकारीमा लक्षित रहेको प्रतिवेदनमा भनिएको छ । विप्लव माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि कहिलेकाहीं आतंककारी गतिविधिको सहारा लिने गरेको भने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू