अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

नेपालको जनसंख्या ३ करोड नाघ्यो, अर्को वर्ष १२ औं राष्ट्रिय जनगणना हुने

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४४ मा प्रकाशित

नेपालको जनसंख्या औपचारिक रुपमा ३ करोड नाघेको छ । बोलीचालीका रुपमा केही वर्षदेखि नै नेपालको जनसंख्या तीन करोड पुगेको बताइएपनि अहिले भने औपचारिक रुपमा यसको घोषणा भएको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार आज शुक्रबार देखि नेपालको जनसंख्या ३ करोड पुगेको हो । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीले शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको जानकारी दिनुभयो । २०६८ को जनगणनाको आधारमा सेट गरिएको घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउने गरेको छ । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ पुगेको थियो । अब १२ औं राष्ट्रिय जनगणना भने एक वर्षपछि २०७८ असारमा हुँदैछ ।

नेपालमा हाल दैनिक जनसंख्या वृद्धि १ हजारदेखि १ हजार १ सय रहेको विभागले जानकारी दिएको छ । हाल नेपालमा जन्म र मृत्युदर दुबै घट्दो क्रममा रहेको जनाइएको छ । झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहको उत्पादनशील समूहमा रहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू