पोखरामा कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । स्थानीय बासिन्दाको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको हो । शव ब्यवस्थापनको लागि डोजरले खाल्टो खन्न लागेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । सोक्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
बिरोधका क्रममा स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाईफायर गरेको थियो । ८ राउन्ड हवाईफायर भएको कास्की प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले ८ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
यसअघि, उपचारका लागि यही असार ८ गते पोखरा ल्याइएका स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुबारीका कोरोना संक्रमित पुरुषको बुधबार मध्यराति मृत्यु भएको थियो । मधुमेह र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वास–प्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । पहिलो मृतकको शव व्यवस्थापन गर्दापनि पोखरामा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।