अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

पाल्पा पहिरोमा परी ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार ९ गते ७:२७ मा प्रकाशित

पाल्पामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । तानसेन–गुल्मी सडक खण्डको सम्मोबारीमा गएको पहिरो पन्छाउने क्रममा पुरिएको अवस्थामा प्रहरीले मङ्गलबार दिउँसो थप १ पुरुषको शव फेला पारेको हो । उनको पहिचान खुलेको छैन ।

तानसेन नगरपालिका ११ को सम्मोबारीमा सोमबार बेलुकी गएको पहिरोमा हिजो ३ जनाको ज्यान गएको थियो । पहिरोमा ज्यान गुमाउनेहरुमा पाल्पा रिब्दीकोट गाउँपालिका २ का ३२ वर्षीय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका २९ का ३३ वर्षीय वीरबहादुर गुरुङ र काभ्रे पाँचखाल नगरपालिका ८ का २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनदेखि गुल्मीको लागि छुटेका चार वटा सवारी साधन पनि पहिरोले बगाएको थियो । सोमबार पहिरोमा परि दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । सोमबार ज्यान गुमाउने तीनै जना लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ट्याङ्करसहित लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई बगाएको थियो । आइतबार राति परेको पानीले अवरुद्ध भएको तानसेन–रिडी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू