अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

असम्भव असत्यलाई पनि यथार्थ कल्पनामा डुबाई दिने खुराक हो कथा सङ्ग्रह “सरोगेट लोग्ने”

आचार्य प्रभा २०७७ असार ८ गते २२:१४ मा प्रकाशित

कथाकार शम्भु सुस्केरा जो एक प्रहरी पेसामा आबद्ध व्यक्ति हुनुहुन्छ ।जति वहाँ आफ्नो पेसामा परिचित र ईमान्दार हुनु होला ।तर मलाई भने वहाँको कथा सङ्ग्रह “सरोगेट लोग्ने” पढ्दा लाग्यो । वहाँ एक अब्बल कथाकार र लेखन क्षमता दरिलो भएका कलम कर्मी पनि हुनुहुन्छ ।वहाँ कथाकार लेखक मात्र नभएर Metro Traffic FM 95.5 MHz ट्राफिक रेडियो (बग्गीखाना) का एक संचारकर्मी पनि हुनुहुन्छ । म वहाँका कार्यक्रमहरू प्राय: सुन्ने गर्छु । जसमा वहाँ आफै नाटक पनि लेख्नु हुन्छ र आफै नाटकको पात्र भएर पनि खेल्नु हुन्छ यसैले वहाँलाई बहुप्रतिभाशाली भन्नमा फरक नपर्ला ।

केही महिना अघिको भेट्मा ट्राफिक रेडियोको (बग्गीखाना) कार्यक्रम म वहाँकै निमन्त्रणामा “रेडियो कार्यक्रम” को पाहुना भएर जाँदा कार्यक्रम समाप्तिपछि मलाई वहाँले एउटा पुस्तक उपहार दिनु भो ।जुन कथा सङ्ग्रह “सरोगेट लोग्ने “थियो । उक्त कथा सङ्ग्रह पढेपछि म कथाकारको कथाभित्रका विषय छनौट, शब्द शैली, कथाको भाव, कथाका पात्रहरूको रोजाई र कथाकारको लेखनकलाले मुग्ध बनेँ जुन सङ्ग्रहको बारेमा केही नबोली रहन सकिनँ ।

हुन त म कुनै समीक्षक/आलोचक र समालोचक त हुँईन न अब्बल कथाकार नै हुँ, यद्यपि एक पाठकको हैसियतले मनमा लागेका र मनलाई छोइएका केही कथाहरू समेटेर समग्रमा केही लेख्ने हिम्मत गर्दैछु । कमी कमजोरीमा क्षमा प्रार्थी छु ।

कथा सङ्ग्रह “सरोगेट लोग्ने” बि.स.२०७२ मा ट्रिनिटी प्रकाशन प्रा लिद्वारा प्रकाशनमा ल्याइएको हो।यो सङ्ग्रहमा जम्मा १८ वटा कथाहरू छन् । जसमा कथाक्रम अनुसार कथा नम्बर १ ) जिदा हारुन २ ) उसले लेखेको कथा ३) कुकुरको ज्ञापन ४) कोठा न.३६३ कथा न.५) मृत्यु लोकमा सेमिनार ६) भाडाको कोख ७) पुस्तक संवाद ८) सरोगेट लोग्ने ९) शान्तिको अवसान १०) उज्यालो खोसिएको रात ११)उज्यालोको पर्खाई १२ ) मस्जिदमा महादेव १३) गुमाएको अनुहार १४) युटर्न जिन्दगी,१५) साँझको पाहुना १६) अभागी छोरो १७) नारीबाद्को खरानी १८) स्खलित जवानीको बकपत्र । यो सङ्ग्रहभित्रका सबै कथाहरू ऊर्जावान्,पठनीय,कौतुहलतायुक्त र अन्त्यमा सबै पाठकलाई सचेत गराउने खुराक भएका छन् यी सबै कथाहरूको वर्णन गर्न साध्य नहोला।जसमध्ये आज म केही कथाहरूको भावमा डुबेर आफ्नो बिचार पोख्न चाहन्छु।

हुन त भन्नु पर्दा कथाकार सुस्केरा एक प्रहरी अफिसर हुनुहुन्छ।जो कोहीले अक्सर प्रहरीलाई अलिक कट्टर र क्रूर सम्झिन्छन् ।जो उनीहरूको कार्य, कर्तव्य र कार्यसिमा अनुसार यसो हुन जरुरी पनि छ। तर मैले भेटेका कथाकार शम्भु सुस्केरा एक नैतिकवान्,ईमान्दार अनि भावुक प्रहरी अफिसर मात्र नभएर आफ्नो लेखनमा पनि उत्तिकै ईमान्दार र दयालुपनलेयुक्त मन र लेखनमा उत्तिकै सिपालु, शब्द शिल्पले तिखारिएको कलम पनि हुनुहुन्छ।कथाकार शम्भु सुस्केराले आफ्नै प्रहरी पेसामा आम जनताप्रतिको नमिठो सोचलाई पनि केही मान्छेहरूले सोचे जस्तो क्रूर र दुर्व्यवहार गर्ने प्रकृतिका मात्र हुँदैनन्। यो त मान्छेको सोच र व्यवहारमा निर्भर हुन्छ। प्रहरी पनि आम जनता जस्तै मान्छे हुन् तर कर्तव्य र खाएको शपथको कारण उनीहरू केही कठोर बन्नै पर्छ र आफ्नो कर्तव्यमा लीन बन्नै पर्छ। त्यही अर्थमा अलिक सर्वसाधारणभन्दा कठोर र क्रूर महसुस भएका हुन् भन्ने जानकारी दिन खोज्नु भएको छ।

सुस्केराका कथाका विषय र पात्रहरू निरीह पशु,पन्छी,बाध्यतामा फसेका पीडित मान्छेहरू हुन्छन् भने वहाँको कथामा देश,समाजमा भइरहेको विकृति, विसङ्गति, नारीको क्रन्दन अनि अपहेलितहरूको पीडा बोलिएका छन्।अर्को पक्षबाट मनन गर्ने हो भने वहाँको कथामा देश,समाज र कुनै पनि सङ्घ, संस्था, कार्यालयमा माथिल्लो स्तरकाहरुले तल्लो दर्जाका कर्मचारीहरूलाई कसरी असमान व्यवहार गर्छन् ? र तल्ला दर्जाकाले कसरी सास्ती र पीडा भोग्नु पर्छ ? प्रहरी सेवामा पनि कति यस्ता अनैतिक कार्यहरू पद अनुसार हुन्छन् भन्ने यथार्थ पनि पढ्न पाइन्छ। समाज र देशमा भएका जात/पात/धर्म, संस्कृति र छुवाछुतलाई तोड्नु पर्छ भन्ने किसिमको सन्देश पनि यो सङ्ग्रहमा पाइन्छ ।

वहाँले आफ्नो कथाको विषयमा मनोवैज्ञानिक ढङ्गले पनि मान्छेको नियत र राजनीतिलाई व्यङ्ग्य प्रहार गरेर कथा बुन्न सफल बन्नु भएको छ ।जुन सत्य वहाँले कथा न.५ मा रहेको कथा “मृत्यु लोकमा सेमिनार”

१ ) “मृत्यु लोकमा सेमिनार”
“मृत्यु लोकमा सेमिनार”कथामा उल्लेख गर्नु भएको छ। मृत्यु लोकमा पुगेर पनि मान्छेको चरित्र,स्वार्थ,व्यवहार उस्तै हुन्छ भन्ने किसिमको चरित्र हरेक देशका मृतक नेता, वैज्ञानिक, कवि सबैलाई मृत्यु लोकमा समेटेर वहाँले काल्पनिक सेमिनार गराएर पनि उनीहरूको चरित्रलाई यथार्थ किसिमले प्रस्तुत गर्दा लाग्छ साँच्चै वास्तविक घटना नै हो कि? भन्ने किसिमको कथाको सृजना गर्नु भएको छ । वास्तवमै सुस्केराज्यूको कथाहरूमा चुर्लुम्म डुब्न पुगिन्छ । हरेक कथामा विविध घटना/विषय समेट्न सक्नु कथाकार सुस्केराको मुख्य विशेषता नै ठानेँ मैले ।

२) “सरोगेट लोग्ने”-
त्यस्तै अर्को कथा कथाक्रम नम्बर ८ मा “सरोगेट लोग्ने” शीर्षकको जुन पुस्तकको मुख्य शीर्षकको कथा रहेको छ।यस कथामा एक दम्पती,सन्तानको अभावमा छटपटिन्छन् जुन कथामा लोग्नेबाट बच्चा हुन सक्दैन भन्ने डाक्टरको जानकारी अनुसार उनीहरूले अनेक उपाय गर्दा पनि सन्तान प्राप्ति सम्भव हुँदैन।समाज/आफन्तको हरपलको प्रश्नले उनीहरू आजित बन्छन् र उनीहरूले उपाय खोजी रहेका छन् सन्तान प्राप्तिको।
अहिलेको समयमा बच्चा प्राप्त गर्न अनेक वैज्ञानिक उपायहरू भए पनि समाज/आफन्तको आँखा छलेर उनीहरूबाट नै सन्तान भएको देखाउन उनीहरू लागी पर्छन् तर अपरिचित व्यक्तिको शुक्रकीट लिएर उनीहरू टेष्टट्युब बेबी जन्माउन पनि चाहँदैनन् । उनीहरूको यस्तो स्वार्थी लालचले कुनै यस्तो मौका खोजी रहेको हुन्छ जो उनीहरू प्राप्त गर्न सफल बन्छन् ।

यही मौकामा (ती दम्पतीमध्ये )लोग्ने, रोहणले आफ्नो पुरानो साथी राकेशलाई भेट्न सफल बन्छ । साथीलाई आफ्नो समस्या, पीडा पोख्छ र उनीहरूबिच सम्झौता हुन्छ । आफ्नी श्रीमतीलाई रोहणद्वारा गर्भधारण गराउने ।राकेशले पहिला त अन्योलमा परे झैँ गरेर इन्कार गरे झैँ गर्छ तर पुरुष लालच उभित्र जागेर आउँछ र उ साथीकी श्रीमतीसँग शारीरिक सम्पर्क गर्न राजी बन्छ । रोहण दम्पती ढुक्क पर्छन् । अब सन्तान प्राप्ति हुने भो भनेर । तर भाग्यमा लेखिएको कहाँ मेटिन्छ र ?उनीहरू फेरि नमिठो धोकामा जकडिन पुग्छन् । उनीहरूको सपना चकनाचुर हुन्छ । आफ्नो साथी राकेशले नै ठुलो धोका दिएर उनीहरूमाथि अनिष्ट छल गरेको पत्तो लाग्छ ।

राकेशको श्रीमतीसँगको फोन वार्ताबाट थाहा हुन्छ कि राकेशले २ सन्तान भएपछि परिवार नियोजन (भ्यासेक्टोमी) गरी सकेका रहेछन् । यो सुनेर रोहणकी श्रीमती छाँगाबाट खस्छे ।सन्तानको चाहनामा आफू अनैतिक बन्न तयार भई अरूलाई आफ्नो शरीर सुम्पिनुको पीडाले बिव्हल बन्छे।यसरी मान्छेले कुनै पनि कुराको प्राप्तिमा जे गर्न पनि तयार बन्छ तर अन्तिममा धोका पाएर खाडलमा जकडिन्छ भन्ने सन्देश दिँदै, पुरुषले पराई नारी भोग्न पाउँदा धर्म/साइनो र नैतिकतासम्म बिर्सिएर कतिसम्म झुट बन्दो रहेछ भन्ने पाठ सिकाएको छ र सन्तानको लालचमा आफ्नी श्रीमती सुम्पन पनि पछि नपर्ने स्वार्थी पुरुषको चरित्रलाई यो मुख्य कथामा नंग्याईएको छ ।

यसरी कथाकारले मान्छेभित्रको स्वार्थी लिप्सा यति नमिठो र निर्लज्ज सम्म हुन्छ कि लोग्ने/ स्वास्नी भित्रको स्वच्छ सम्बन्धमा कलङ्क लाउन पनि मान्छे उद्वेलित बन्न सक्छ भन्ने यथार्थ चित्रण सरोगेट लोग्ने कथाबाट छर्लङ्ग पारिएको छ ।

३) “नारीवादको खरानी”-
सरोगेट लोग्ने कथाक्रम १७ को कथा “नारीवादको खरानी”पढेर यस्तो महसुस भयो कि मान्छेले सकारात्मक सोच र उच्च महत्त्वाकाङ्क्षा राख्दा पनि कसरी धोकाको खाडलमा आफू जाकिन पुग्छ ? हुन त यो कथामा कथाकारले असम्भव महत्त्वाकाङ्क्षा पालेर सकारात्मक बन्न खोजेको भने पक्कै होइन तर आफ्नो सकारात्मक सोच र महत्त्वाकाङ्क्षाको पात्र आफै नभएर अर्कै पात्र भई दिएकोले पनि उसले आफ्नो लक्ष्य पुरा गर्न सकेन । यो कथामा एउटा अर्को विषयमा पनि कथाकारले यस्तो यथार्थ चित्रण गर्न सफल भएका छन् जुन हाम्रो घर/समाज/देशमा व्याप्त छ । जुन विषय “नारीवाद”को नारा बनेर समाजमा कति अन्जान र कर्तव्यपरायण लोग्ने मानिसहरू परिबन्दमा परेका छन्।यस्तै कथा यहाँ सुवासले पनि भोग्न बाध्य बन्नु परेको छ ।

सुवास जो एक गरिब,मजदुरको छोरा।मजदुरी गरेर जीविका चलाए पनि कर्तव्य परायण र महत्त्वाकाङ्क्षी छन् । आफ्नो बुवा गरिब, अनपढ नै भए पनि छोरोलाई पढाउने सपना सँगाल्दछन् तर उन्को सपना पुरा हुन नपाउँदै उनी मृत्युको कोखमा पुग्छन् । बुवाले किनेको पुरानो रेडियोका कार्यक्रमहरू सुनेर सुवासले पनि आफ्ना रचनाहरू पठाउने क्रममा उन्का रचनाहरू मन पराएर थुप्रै पत्रहरू आउँछन् । तिनै पत्रहरूबिचमा रिताको प्रेम पत्र पनि आउँछ। सुवासले आफ्नो स्थितिलाई सम्झेर त्यो प्रेम पत्रलाई स्वीकार गर्दैन र अन्त्यमा उसले आफ्नो अवस्था सुझाएर रितालाई सम्झाएर प्रत्युत्तर पठाउँछ तापनि रिताले सम्झौता गरेर काठमाडौँ आए तिमी जतिका लेख्ने मान्छेले कुनै पत्रिकामा काम पाउन सक्छौ भनेर आश्वासन दिन्छे । सुवास पनि विश्वस्त बन्छ र रिताको कुरालाई आत्मसात् गरेर उनीहरू विवाह बन्धनमा बाँधिन्छन् ।

सुवासले मजदुरी काम गरेर पनि आफ्नी श्रीमतीलाई पढाउने अघि बढाउने उच्च महत्त्वाकाङ्क्षा राख्छ र आफूले अनेक दुख गरेर पनि श्रीमतीलाई पढाउँछ।सुवासले आफ्नी श्रीमतीमा ठुलो आस सजाएर अघि बढ्न उत्प्रेरित गर्छ तर यस्तै भने झैँ हुन्छ “मधौरोले माड नखाए पछि अरूको के लाग्छ ?” जति उसले श्रीमतीलाई धकेल्ने कोसिस गरे पनि उ असफल बन्छ । पढाई अधुरै रहन्छ रिताको । अनेक बाहाना बाजिमा रिताले यो गर्छु, उ गर्छु भन्छे जे जे भन्यो त्यही गराउन उ पनि लागी पर्छ किनकि उसले आफ्नो श्रीमतीमाथि ठुलो सपना सजाएको हुन्छ । आफूले पढ्न नसके पनि श्रीमतीले पढेर उच्च ओहोदामा जागिर खाकी, कल्पना गर्छ र आफू सङ्घर्ष गर्दै ज्याला मजदुरी गरेर पनि श्रीमतीलाई अघि बढाउन अनेकौँ दुख कष्ट सहन्छ तर अफसोस ! सुवासको सब प्रयत्न असफल बन्छ । अन्त्यमा उ दुई छोरीहरूको बाबु बन्छ तर पनि उसले श्रीमतीलाई केही गर, अघि बढ भन्ने प्रेरणा दिन पछि पर्दैन। श्रीमतीको पनि सोच कहिल्यै श्रीमानको समर्पणप्रति सकारात्मक बन्दैन । अनेकौँ बहाना गर्दै श्रीमानलाई सताई रहन्छे।अन्त्यमा छोरा जन्माउने इच्छा राख्छे त्यो पनि पुरा हुन्छ ।

यसरी सुवासले सकारात्मक सोच र उच्च महत्त्वाकाङ्क्षाको अधुरो ताना बाना बुन्दाबुन्दै सधैँ धोकामा जकडिन पुग्छ।उ सोच्ने गर्छ महिला/पुरुष समान हुन् । जसले अधिकार र कर्तव्यको उत्तिकै पालना गर्नु पर्दछ । उ आफूलाई पछाडि राखेर पनि श्रीमतीलाई अघि बढेको हेर्न चाहन्छ । चाहे उसले घरको सब काम गर्न किन नपरोस्?उ आफूलाई म लोग्ने हुँ स्वास्नीले सब गर्नु पर्छ भन्ने भावना राख्दैन।तर “म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” भने झैँ श्रीमतीलाई आफूले चाहेजस्तो कहिल्यै बनाउन सक्दैन।अन्त्यमा उ हार खाँदै जान्छ र कैलेकँही श्रीमतीलाई रिसाएर सम्झाउने गर्छ ।पढ, कोसिस गर भन्छ तर श्रीमतीले टेर पुछार नलाए पछि एक दिन अचानक छोरा/छोरीकै अगाडि एक झापट लाउन पुग्छ । सहनुको पराकाष्ठा नाँघेपछी सुवासको अनायास हात उठ्न पुग्छ।वास्तवमा उसले रिसले कुटेको त हुँदैन तर श्रीमतीले त्यति सानो कुरामा बबन्डर मच्चाएर महिला अधिकारकर्मीहरुकामा उजुर हाल्छे ।

कथाकारले यो कथामा के प्रस्ट पार्न पनि खोजेका छन् भने कानुन पनि अन्धो हुन्छ।जहाँ दुईतर्फ़ि कुराको सुनवाई नभई एकतर्फी कुरा सुनेर नारी अधिकारकर्मीहरुले एकतर्फी न्याय दिन्छन्।नारी मात्र पीडित हुँदैनन् । पुरुष पनि कैलेकँही अन्यायमा परेका हुन्छन् भन्ने कुरालाई न्यायका ठेक्का लिएका अधिकारकर्मीहरुले कहिले सोच्दैनन् ।हो यस्तै अवस्था भयो सुवासको पनि । आखिर सानो निहुँ त्यही पनि आफ्नै स्वास्नीको भलाईकोलागी उसले हर प्रयत्न गर्दा पनि अत्ति भएर एक झापड मात्र हानेको थियो तर त्यही निहुँमा ती दुईलाई अधिकारका ठेकेदारहरूले छुटाएर छाडे ।

समग्रमा यो कथाले एउटा सज्जन व्यक्ति जो आफ्नो पारिवारिक स्तर माथि उठाउन आफ्नी श्रीमतीलाई ज्यान दिएर साथ दिन खोज्छ तर एउटाको सोचले अर्कोमा परिवर्तन आउन सक्दैन । आफ्नी श्रीमतीले यदि श्रीमानको माया, उद्देश्य र साथ सम्झिन सकेको भए यो कथामा हृदय विदारक घटना आउने थिएन तर एउटाको अबुझपनले अर्कोको उच्च सकारात्मक महत्त्वाकाङ्क्षामा बज्रपात पर्‍यो । उसले आफ्नो छोरालाई पनि एक थप्पड हानेको निहुँ मात्र भयो छोरा पनि मृत्युको कोखमा पुग्यो ।

अप्रत्याशित घटनाहरू घटीदिनाले र आफू निर्दोष हुँदा हुँदै समाजले दोषी बनाए पछि आखिरमा उ परिबन्दले पागल बन्यो र त्यही अचेतावास्थामा उसले दुई छोरीहरूको पनि हत्या गर्‍यो ।

जब रिताको मनमा श्रीमानप्रति केही सहानुभूति जागेर आईरहेकोथ्यो र घर फर्केर आफ्नो सन्तान श्रीमानसँग भेटूँ भन्ने चाहना पनि जागृत हुँदै,फेरि अर्को तर्फबाट आफ्नै अहंमताले रोकी रहेको बेलामा अनायास हकरले ल्याएको पत्रिकाको खबर पढेर रिता ढल्पलाउँ थाली जुन खबर आफ्नै श्रीमानले तीन छोरा छोरी मारेको भन्ने थियो ।

अन्त्यमा यो कथाले के सन्देश दिन खोजेको छ भने,मान्छेले सही महत्त्वाकाङ्क्षा बोकेर आफू बाहेक अरुकोलागि जतिसुकै गरे पनि गरिदिनेले नगरे पछि सारा कोसिस बालुवामा पानी हाले झैँ हुन्छ । यहाँ सुवास र रिताबिचको सम्बन्धमा पनि यस्तै भएको छ । आफूलाई कसैले अघि बढाउन प्रयास गर्दैछ भने त्यो प्रयासलाई मनन गरेर अघि बढ्नु कसैको पनि कर्तव्य हो।तर यहाँ त श्रीमान् स्वयंले श्रीमतीलाई कठोर परिश्रमकासाथ सहयोग गरेर हरेक कार्यमा अगाडि बढाउँदा पनि श्रीमतीले गुणको बदलामा विष घोली । सुवास बिनासित्तिमा परिबन्दमा परेर आखिर पागल बनेर हत्यारा समेत बन्यो।श्रीमान्/श्रीमतीमा विपरीत बिचार हुनुले पनि यस्तो घटना सृजना हुन्छ र यहाँ समाज र कानुनका रक्षकहरू नै अन्धो हुन्छन् र निर्दोषहरुले पनि यसरी सजाय भोग्नु पर्छ भन्ने किसिमको शिक्षा दिन खोजिएको छ । यो कथाले अन्तिममा पाठकको मनलाई हृदय विदारक बनाउन उत्प्रेरित गरेको छ ।

४) मस्जिदमा महादेव –
सरोगेट लोग्ने कथा सङ्ग्रहको कथा नम्बर १३ को “मस्जिदमा महादेव”कथाले संसारमा मान्छे भनेको दुई जात मात्र हुन्छन् नारी र पुरुष ।जातपात, धर्म, जातीय भेदभाव सब बकवास हो भन्ने किसिमको शिक्षा यो कथाले दिन खोजेको छ।एक मुस्लिम युवती र एक हिन्दु युवकको प्रेमलाई आधार बनाएर लेखिएको यो कथामा सच्चा प्रेम गर्नेहरूलाई कुनै बाधा, अड्चनले छेक्न सक्दैन भन्ने मिठो उदाहरण पनि दिएको छ ।

रितेश एक प्रहरी नौजवान जो ईमान्दार र कर्तव्यप्रति बफादार छ । उ मानवीय चेतनाले परिपूर्ण भएको कारणले उसको मनमा कसैलाई ठगुं, सास्ती दिऊँ, गरिब, निरीहहरूलाई दुख दिऊँ भन्ने कहिल्यै लाग्दैन । आफ्नो नोकरीको सिलसिलामा उ विराटनगर छेउ नेपाल/भारत बोर्डर जोगबनीमा सरुवा भएर पुग्दछ । आफ्नो दैनिक ड्युटीको क्रममा उसको एक कलिली युवतीसँग आँखा जुध्न पुग्छ । हुन त रितेशले उक्त युवतीलाई आफ्नो मायाजालमा आफैले फसाउन खोजेको पनि होइन तर उही युवती जो मुस्लिम धर्मकी हुन्छे उसैले रितेशलाई भित्र भित्रै मन पराउन थाल्छे ।आखिर युवा मन न हो रितेश पनि ऊप्रति आकर्षित बन्दै जान्छ । उनीहरूको आकर्षणमा केवल सच्चा प्रेमको बास्ना हुन्छ तर स्वार्थी प्रेमको गन्ध हुँदैन ।

यसरी नजानिँदो तवरले ती दुईको कञ्चन प्रेम आफ्नै रफ्तारमा बग्न थाल्छ । रितेशको मनभित्र कता कता डर नलुकेको पनि होइन।एक मुस्लिम केटीसँग गाँसेको सम्बन्ध सफल बन्न सक्ला के ? भनेर, उ नआत्तिएको पनि थिएन।तर सानिया (रितेशकी प्रेमिका) पनि उस्तै चलाख र सोच्न सक्ने क्षमताकी भएकीले रितेशमा केही साहस भने थियो नै ।

यसरी अन्जान्पनमै उनीहरूको मायामा विश्वास, अधिकार र अझ प्रबल गाढापनको बीजारोपण हुन लाग्दा नै रितेशको अर्कै ठाउँमा पोष्टिंग हुनुले रितेश चिन्तित बन्छ । आखिर सानियालाई पनि घरबाट अन्तै लगिन्छ । छुट्टिने बेलामा ती दुईको भेट् त के देखादेखसम्म हुन पाउँदैन । रितेश गह्रौँ मन लिएर नयाँ ठाउँ जान्छ।सानियासँगको बिछोडमा उ अति भाव विह्वल बन्छ । हरपल सानियाकै बारेमा सोंचमग्न हुन्छ । सानिया बाहेक अरू केटी सोच्नै सक्दैन । यो कथामा कथाकारले के प्रस्ट्याउन्न खोजेका छन् भने जब दुई आत्माको मिलन हुन्छ तब जात/सीमा /रङ्ग केहीको कुनै अर्थ रहँदैन । अहिलेको स्वार्थी दुनियाँमा नक्कली प्रेमको नाममा धोका /अपराध बढी रहेको अवस्थामा पनि यस्तो सङ्लो, निर्मल प्रेमको प्रतिबिम्ब देखाउन खोज्नु कथाकारको छुट्टै विशेषता हो र वहाँको कल्पनामा आफूले चाहेजस्तो पात्रहरू पाउनु पनि कथाको विशेषता हो । आखिर चोखो माया र विश्वास छ भने जस्तोसुकै परिस्थितिमा पनि उक्त माया सफल बन्छ ।

यो कथाको मन जित्ने मुख्य पाटो के छ भने ती दुवै पात्र दुई विपरीत धर्मका। यदि यथार्थमा सोच्नु हो भने हिन्दु र मुस्लिमको बिहेबारी हुन नै असम्भव । मुसलमानहरू कस्तरी आफ्नो धर्ममा कट्टर र लिप्त हुन्छन् ? रितेशले सानियालाई उसको धर्मप्रतिको कठोरता त उनीहरूको समाजको क्रूरताको बखान गर्दा पनि सानियाले रितेशलाई अझ बौद्धिक तर्क दिएर सम्झाउँछे । आखिर मान्छे सबै एकै हुन् । ईश्वर पनि पच्चीसौं बर्षअगाडि एउटै थिए रे । पछि मान्छेले नै विभाजन गरेका रे भनेर उल्टो रितेशलाई सबक सिकाउँछे ।

यसरी रितेश आफ्नो बिगत सम्झेर सानियाको यादमा समय बिताउँदै गर्दा अन्त्यमा अनायास ती दुईको मिलन भएरै छाड्छ । सानियाले पनि आफ्नो चोखो मायामा दाग लाग्न नदिई अनेक बाहानामा आफुलाई कहीँ सुरक्षित राख्छे।रितेशले पनि सानियाकै मायामा समर्पित बनेर अबिवाहित बनेर बस्दै हुन्छ । अन्त्यमा फेसबुक मार्फत मिलन हुन्छ । कथाको अन्त्यमा ती दुईले एकार्कालाई गरेको फेसबुक संबाद मार्फत गरेको प्रश्नमा रितेशले सोध्छ सानियालाई ।” के तिम्रो मनको मस्जिदमा मेरो मनको महादेवले बास पाउने भयो ?” सानियाले उसरी सहजै जवाफ दिन्छे । “त्यतिकालागी आजसम्म पवित्र पारी राखेकी छु मेरो मनको मस्जिदलाई । आश मारेकी छैन, तिम्रो मनको मन्दिरमा मेरो मोहम्मदले पनि बास पाउने भयो ।”

समग्रमा यहि संबादबाटै बुझिन्छ कि धर्तीमा चोखो माया गर्नेहरुकालागी सबै धर्म, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा एकै हुन् बस् मन कन्चन र सफा हुनु पर्छ । यसरी “मस्जिदमा महादेव” कथामा दुई अलग अलग धर्मका प्रेमीहरुले आ-आफ्नो धर्मको चोखो स्थानमा एकार्कालाई सजाउन पुगेका छन् । समग्रमा कथाकार आफ्ना हरेक कथाहरुमा ज्यादै उदार बनेर प्रस्तुत भएका छन् ।

५) “भाडाको कोख”- (जन्माएको ज्याला)
सरोगेट लोग्ने कथा संग्रहको ६ नम्बरको कथा “जन्माएको ज्याला”पढ्दा हरकोही पाठकको मनमा सिरिङ्ग काँडा उम्रिन्छ । यो कथाले काठमाण्डौका मान्छेहरुको एकलकाँटे स्वभाव अनि यहाँ बाँच्ने मान्छेहरुको जीवनशैली र स्वभावलाई छर्लंग पार्न मद्दत गरेको छ । गाउँबाट पढ्न आउने युवतीहरुको दीन, दशा र संघर्षलाई यो कथाले स्पष्टसँग देखाई दिएको छ ।

भूमीका जो गाउँकी एउटी निश्छल र कन्चन केटी,आमाको सपना साकार पार्न गाउँबाट काठ्माण्डौ पढ्न आउँछे । तर उस्ले सोंचेजस्तो सहज काठमाण्डौ छैन । जागिरको लागी भौंतारिंदा, भौंतारिंदै उ कैले निरश बन्छे । लाखौँ कोशिसपछि उस्ले मुश्किलले एउटा जागिर पाउँछे । बल्ल उस्को जीवनको गन्तव्यको ढोका खुलिएको आभास हुन्छ उस्लाई । उ पिके क्याम्पस पढ्दै उक्त नोकरीमा लाग्छे । बिडम्बना ! उमाथी अर्को बज्र आईलाग्छ र उ फेरि निरश बन्छे ।

अनायास बाबुको बिरामीको खबरले उ हतोत्साहित हुन्छे । आफु गाउँ जान असक्षम बनेको कारणले गर्दा बाउ/आमालाई काठ्माण्डौतिरै झिकाउँछे र आफ्नो बाको उपचार गर्न बीरहस्पिटल भर्ना गर्छे । तर अफसोच ! भुमिकामाथी समयले ठगेको छ । उसले जति जहाँ जे कोशिस गर्दा पनि त्यँही असफलता हात लाग्छ । आफ्नो बाबा गुमाउँन उ विवश बन्छे । अन्त्यमा आमा गाउँ फर्किन बाध्य हुन्छिन् तर छोरीलाई काठ्माण्डौ बसेर आफ्नो शिक्षा अघि बढाउँन सल्लाहा दिन्छिन् तर समयको खेल । अबको नयाँ काठमाण्डौ बसाई र जीवन निर्वाहको क्रममा भूमिकाको जीवनले अर्को मोड लिन्छ ।

भूमिकाले फेरि नयाँ जागिरको खोजीमा काठमाण्डौमा धेरै संघर्षसहित समस्या बेहोर्नु पर्यो । काठमाण्डौमा अन्य नारीहरुले भोग्नु परेको पीडा उसले पनि भोग्न बाध्य बन्नु पर्छ । यसै शिलशिलामा उसले आफ्नो सुरक्षाको छहारी खोज्दा खोज्दै एक पुरुष भेट्दछे । जसको बैवाहिक जीवनमा निसन्तान हुनुको पीडामा ती जोडी बिक्षिप्त बनेको बेला भूमिका उनीहरुको जीवनमा आईपुग्छे ।

अभाव र संघर्षको दोसाँधमा भौंतारिई रहेकी भूमिकाले आफ्नो जीवन निर्वाह र आमाको खुशीकोलागी आफ्नो नारीत्व परपुरुषसँग बन्धक राखेर कुनै शर्तमा आमा बनिदिनु पर्ने हुन्छ।काठमाण्डौ शहरको भयावह स्थिति र नारीहरुले भोग्नु परेको पीडा अनि गिद्धले झैं हेर्ने आँखाहरुबाट दुर्गन्धित हुनुभन्दा त विश्व र उसकी श्रीमतीको शर्त मान्दा नै हित हुने देखेर उ त्यो जोडीको ईच्छा पुरा गरिदिन र आफ्नो जीवन गुजारा गर्न उनीहरुको शर्त मान्न तयार भई गर्भवती बनेर एउटा छोरो जन्माउँन सफल बन्छिन् ।

भूमीका त्यस्तो पात्र भएर यो कथामा उभिएकी छ जो काठमाण्डौमा असंख्य नारीहरु आफ्नो जीवन धान्नलाई आफुले नचाहेर पनि ईच्छा बिपरित काम गर्नु पर्ने अवस्था सृजना उत्पन्न हुन्छ । भूमीका पनि यस्तै मजबुरीमा फँसेकी युवती हो जस्ले आफ्नी आमा र आफ्नो जीवन बँचाउनलाई कसैको गर्भधारण गरेर आफ्नो जीजिबिषा पुरा गर्न बाध्य भई । तर भूमीका एक नारी हो जो आफुलाई एक असल नारी, पत्नी बनाएर बाँच्ने ईच्छा पाल्दै संघर्ष गरीरहेकी थिई तर दुर्भाग्य ! उसले यो स्वार्थी संसारमा त्यो ईच्छा पुरा गर्न सकिन तर एक सन्तानहिनको प्रबल ईच्छा पुरा गर्नलाई आफ्नो नारी अश्मिता नै बन्धक राखेर आफुलाई होम्न तयार भई । आखिर उ पनि नारी न हो । ९ महिना पेट्मा राखेर पीडा खप्दै जन्माएको बच्चालाई सुम्पिनु पर्दा उसको मुटु छिया छिया नभएको थिएन । तर पनि उस्ले उक्त बच्चा भुल्न विवश बनी । आफुलाई जन्म दिने आमाको सपना साकार पार्न उ पनि आमा बनी तर आफ्नो पाठेघरलाई बन्धक राखेर । एक नारीले अर्की नारी (रन्जु )को आमा बन्ने सपना समाजको आँखा छलेर पुरा गरिदिई । आफु हरपल आफुले जन्माएको बच्चाकोलागी तड्पिएर । शम्भु सुस्केराज्युले आफु एक पुरुष भएर पनि नारीको कोमलता र सन्तानहिन नारीको उत्पीडनलाई मनन गरेर यस्तो मर्मस्पर्शी र मनोबैज्ञानिक कथा लेख्नु भनेको वहाँको नारीप्रतीको श्रद्धा र सम्मान मानें मैले ।

समग्रमा “सरोगेट लोग्ने “कथा संग्रहमा देश, समाजभित्र भोगिएका, लुकाईएका कुसंस्कारहरु, राजनीतिमा देखिएका बिक्रितीहरु, धर्मको निहुँमा मान्छे मान्छेबीचको कटाक्ष आदीलाई समेट्ने कोशिस गरिएको छ । जो सम्पूर्ण कथाहरुमा विभिन्न बिशेषताको साथमा कथाकारले पाठकलाई पस्किन सफल बन्नु भएको छ । यस कथाभित्र दुई धर्मबिचको असम्भव प्रेमलाई “मस्जिदमा महादेव”कथाले जुनसुकै जात धर्म भए पनि स्वच्छ प्रेमलाई केहीले छेक्न सक्दैन । जब दुई आत्माभित्र एकार्काको धर्म/संस्कारप्रति सम्मान हुन्छ भन्ने शिक्षा दिईएको छ ।

यो संग्रहभित्रका सबै कथामा आ-आफ्नै बिशेषता छन् जुन कथा पढे पनि पाठकको मन सन्तुष्ट हुन्छ । हरेक कथाले सबै पाठकलाई सहि आँखा खुलाउने प्रयास गरेको छ । लाग्छ कथा पढि रहँदा त्यहि कथाभित्रको पात्र मै हुँ कि ? भन्ने दिवास्वप्नमा डुब्न पनि कथाकारले सबै पाठकलाई लालायित बनाउँन सफल बन्नु भएको छ । “सरोगेट लोग्ने”कथा संग्रह एक असम्भव यथार्थलाई पनि सम्भव मनोविज्ञानमा ढाल्न सक्ने कथा संग्रह हो भन्न बाध्य भएँ म ।

कथाकार सुस्केरालाई भित्रि मनले नियाँल्ने हो भने वहाँ आफ्नै आस्थामा प्रहार गर्ने र आफैले भोगेका संघर्ष र पीडाका कथाहरुलाई सबैसामु पोख्ने स्पष्ट कलम हुनुहुन्छ । वहाँ आफ्नो पेशा, कर्तब्यलाई सम्मान गर्नु हुन्छ तर त्यही पेशाभित्रका बिकृतिलाई घृणा गर्नु हुन्छ । बिकृति हटाएर संस्कार जोगाउन खोज्नु वहाँ आफ्नो धर्म सम्झिनु हुन्छ । कथाकारले यो कथा संग्रह तयार गर्न पुरै तिन बर्ष लाउनु भएको छ । तर समय खर्चिए अनुसार यस संग्रहका कथाहरु पढ्दा भने समय मिलिक्क गए झैं लाग्छ कारण कथाहरु रोचक र मिठासपूर्ण छन् । सुस्केरालाई अझै यस्ता खुराकरुपी संग्रह निकाल्ने हौशला बढोस् यही शुभकामना !

 

कोलोराडो, अमेरिका