अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

एनआरएन अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना दुई लाख रुपैयाँ पुरस्कार राशि

बिआरटीनेपाल २०७७ असार ८ गते १८:२६ मा प्रकाशित

मिडिया संयोजकमा दाहाल

अमेरिका,जुन २१। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले दुई लाख रुपैयाँ राशिको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसिसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिवार सम्पन्न समितिको बैठकले पुरस्कारको लागि आवश्यक नीति,नियमावली र श्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रवासमा रहेका गैर आवासीय नेपालीहरूले प्रकाशन गरेको उत्कृष्ट कृतिलाई नगद राशिसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिनुभएको छ। पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराउनु भएको छ।

समितिका अध्यक्ष एवं एनआरएन आइसिसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिवारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रूपमा मनाउन विश्वका सबै नेपाली भाषा,साहित्यसँग सम्बन्धित सङ्घ,संस्था र साहित्यप्रेमीहरुलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। भानु जयन्ती असार २९ गते पर्दछ।

समितिको दोस्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको सञ्चार संयोजक मनोनीत गरेको छ। यसै गरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाइन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरूमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएई)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा सङ्ग्रह,गजल सङ्ग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरूको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोस्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो।

बैठकमा विशेष आमन्त्रितका रूपमा सहभागी हुनुभएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैर आवासीय नेपाली सङ्घ र नेपाल प्रज्ञा प्रतिष्ठानले विदेशमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न मिलेर जानुपर्नेमा जोड दिनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठान सङ्घले गर्ने सबै कार्यक्रमहरूलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो । त्यसैसरि बैठकमा समितिका सल्लाहकार एव सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा सङ्घ र प्रज्ञा प्रतिष्ठानबिच भएको सहमति अनुसार प्रवासमा नेपाली साहित्यको प्रवर्द्धन गर्न कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ),सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ) , बेलु काजी थापा ( एसिया ) र निश्चल पी एस लिम्बू ( मध्यपूर्व) को उपस्थिति रहेको थियो । त्यसैसरि सदस्यहरू गौतम दाहाल ( अमेरिका) , तीर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती ( बेलायत ) र कृष्ण कुसुम ( अमेरिका) को सहभागिता रहेको थियो । बैठकको सञ्चालन सदस्य सचिव भगवती बस्नेतले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू