अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

बहराइनबाट पहिलो उडानमार्फत १५० नेपाली आइपुगे, आजै यूएई, कुवेत, पाकिस्तान र माल्दिभ्सबाट पनि नेपाली फर्कंदै

बिआरटीनेपाल २०७७ असार ७ गते २३:५० मा प्रकाशित

बहराइनबाट पहिलो उडानमार्फत १५० जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा तीन नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै आज एअर अरेबियाको चार्टर्ड जहाजमार्फत यूएईबाट नेपालीहरु फर्कंदै छन् भने पाकिस्तानमा रहेका नेपाली लिन हिमालय एअरलाइन्स त्यसतर्फ गइसकेको छ । हिमालयले ५६ जना पाकिस्तानी नागरिक र १६ जना नेपाली लिएर गएको छ । फर्कंदा कति नेपाली ल्याउँछ भन्ने यकिन नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै आज माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली फर्कंदैछन् भने कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई ल्याइदिनेछ ।

यस्तै, हिजो विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् ।कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । हिजो सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू