अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

नेपालका कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयको दावी

बिआरटीनेपाल २०७७ असार ७ गते २३:४७ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड–१९ सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ बारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डेले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको दावी गर्नुभयो ।

उहाँका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कोभिड सङ्क्रमितमध्ये सबैजसो काम विशेषले विदेश गएर फर्किएका व्यक्ति र धेरैजसो पुरुष रहेकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।

डा पाण्डेका अनुसार अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।

अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने पाण्डेको भनाई छ । पछिल्लोपटक ६ देखि ८ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेले बताउनुभयो ।

महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार बढी पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू