अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

‘कोरोनादेवीको आविष्कार भएको छैन, भ्रमको पछि लाग्दा झनै फैलने खतरा छ’

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०२ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देवी देवताको पूजाआजा गरेर कोरोना निको हुने भ्रम फैलाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको जानकारीमा आएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

कोरोना फैलनुअघि कहिले पनि कोरोनादेवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार भएको भन्ने भ्रमको आधारमा नदी किनारमा भेला भएर र विभिन्न धार्मिक समारोह आयोजना गरेर पूजा आज भइरहेकोमा त्यसरी कोरोना निको नहुने गौतमले बताउनुभयो ।

भगवान मानिससँग क्रोधित भएको कारणले यो महामारी भएको र भगवानलाई खुसी पारेमा मात्रै भाइरस हराएर जान्छ भन्ने विश्वासका साथ पूजाआजा र समारोह गरिएको भन्ने थाहा हुन आएको भन्दै प्रवक्ता गौतमले यस्ता अन्धविश्वासले झनै समस्या बढ्ने बताउनुभयो । सरकारले मानिस जम्मा हुन प्रतिबन्ध लगाएको अवस्थामा देवी देवताले कोरोना भगाउँछन् भन्दै जमघट हुँदा झनै कोरोना फैलने डर बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू