सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्समा अध्यक्ष प्रचण्डले सो कुरा स्पष्ट पार्नुभएको हो । कन्फ्रेन्समा सहभागि नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा धारणा राख्नुभएको छ ।
दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टीबीचको सम्बन्ध पनि मजवुत हुनुपर्ने कुरा कन्फ्रेसमा भएको उहाँले जानकारी दिनुभयो । नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवशरमा शुभकामना आदान प्रदान गर्न कन्फ्रेन्सको आयोजना भएको बताउनुभयो । कन्फ्रेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको छ ।
कन्फ्रेन्समा नेपालको तर्फबाट अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री पोखरेल, स्कूल विभाग उपप्रमुख बेदुराम भुसाल लगायतका नेताहरुको सहभागिता थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बत विभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।