अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

गण्डकी प्रदेशमा भारतबाट फर्केका २४ जनामा कोरोना संक्रमण, ३४ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ असार ४ गते २३:१८ मा प्रकाशित

गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा ६, बागलुङमा १४, नवलपरासीमा २ र स्याङ्जामा २ जना सङ्क्रमित थपिएका छन् ।

कास्कीमा सङ्क्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् । त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा सङ्क्रमण फेला परेको जनाइएको छ । नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ सय ४८ पुगेको छ । हालसम्म स्याङ्जामा ७५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ९९, बागलुङमा ५६, पर्वतमा ३८, गोर्खामा ३६, तनहुँमा २६, कास्कीमा १३, म्याग्दीमा तीन तथा लमजुङ र मनाङमा एक /एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्येमा २० जना महिला छन् । हालसम्म ३४ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । १ जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू