अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

चीन र भारतका विदेशमन्त्रीबीच लद्धाख भिडन्तबारे छलफल, विवादको शान्तिपूर्ण समाधान गर्न दुवै देश सहमत

बिआरटीनेपाल २०७७ असार ३ गते ७:२४ मा प्रकाशित

सीमा क्षेत्रमा दुई देशका सेनाबीच भएको भिडन्तपछि बुधबार भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । चीनियाँ विदेश मन्त्री वाङ यीलाई उदृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले दुवै देशले विवादको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकरले गरेको कुराकानीबारे भारतले आधिकारिक जानकारी गराएको छैन । तर बुधबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शान्तिपूर्ण समाधान खोजेको बताउँदै तर आफूहरु गतिलो जवाफ दिन पनि सक्षम रहेको बताउनुभएको थियो ।

दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानीमा सोमबार राती भएको भिडन्तका दोषीलाई कारबाही हुनुपर्ने र दुई देशका सरकारबीच भएको सहमती भारतीय सेनाले अवलम्बन गर्नुपर्ने चीनले माग गरेको रोयटर्सले जनाएको छ। चीनले भारतलाई आफ्ना अग्रपंक्तीका सेनालाई नियन्त्रण गर्न आग्रह गरेको बताउँदै आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको बताएको छ।

लद्दाखको सिमावर्ती क्षेत्रमा दुई देशका सेनाबीच भएको झडपमा भारतका कर्णेलसहित २० जना सैनिक मारिएको दावी गरिएको छ। चिनियाँ पक्षमा भएको क्षतीबारे केही सार्वजनिक भएको छैन। चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबारको मिडिया ब्रिफिङमा दुई देशबीच उत्पन्न विवाध कुटनीतिक र सैन्य माध्यमबाट समाधानको पहल भइरहेको बताउनुभएको थियो ।

उहाँले यस घटनामा चीन जिम्मेवार नभएको समेत स्पष्ट पार्नुभएको छ । झाओले भारतीय सैनिकसँग थप भिडन्त गर्ने पक्षमा चीन नरहेको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू