अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

बिहीबार कुवेतबाट थप १५० जना स्वदेश फर्कने, बाँकीको स्वदेश फिर्ती प्रक्रिया छिट्टै टुंगो लाग्ने

बिआरटीनेपाल २०७७ असार ३ गते ७:१३ मा प्रकाशित

कुवेतबाट थप १५० जना भोलि बिहीबार स्वदेश फर्कने भएका छन् । आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत स्वदेश फर्कने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । त्यहाँ आममाफीमा सहभागी नेपालीमध्ये बुधबारसम्ममा चार उडानमार्फत ५९८ जना नेपाली स्वदेश फर्किसकेका छन् । उनीहरुलाई दूतावासको समन्वय र सहजीकरणमा कुवेत सरकारले निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । अहिलेसम्म फर्कनेमा सबैजना महिला रहेका छन् । आममाफीमा सहभागीमध्ये महिलालाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको राजदूत भण्डारीले बताउनुभयो ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा कुवेतले नेपाल फर्काएको छ । कुवेतले गएको अप्रिल महिनाभरी नै विभिन्न देशका नागरिकलाई आममाफीमा सहभागी गराएको थियो।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल पठाउन थालेको हो । आममाफीमा सहभागी हुनसाथ सबैलाई कुवेतले आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ । विभिन्न क्याम्पमा रहेका बाँकी नेपालीलाई पनि नेपाल सरकार र कुवेत सरकारका सम्बन्धित निकायसँग समन्वय गरी क्रमशः नेपाल फर्काउने दूतावासले जनाएको छ । बाँकीको स्वदेश फिर्तीका लागि प्रक्रिया टुङ्याउने काम भैरहेकाले केही समय धैर्य गर्न दूतावासले त्यहाँ रहेका सबै नेपालीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू