अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

जनसम्पर्क समिति, अमेरिकाले बुझायो ज्ञापन पत्र

बिआरटीनेपाल २०७७ असार २ गते २१:३७ मा प्रकाशित

न्यु योर्क, अमेरिका। नेपाली जनसम्पर्क समिति,अमेरिकाले आज नेपाली महावाणिज्य दूतावास,न्यु योर्क मार्फत प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापन पत्र बुझाएको छ। नेपाली काँग्रेसको जेठ २६ गतेको बैठकले कोरोना महामारी विरुद्धको सङ्घर्षमा सरकारको अकर्मण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध सबै जनसम्पर्क समितिमार्फत यसरी ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो। सोही निर्णय र निर्देशनका आधारमा आज समितिले पनि महावाणिज्यदूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

समितिका सभापति एवं काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्रमा कोरोना महामारीविरुद्ध सरकारले प्रभावकारी काम नगरेको,काँग्रेसले सुरुवातका दिनदेखि नै कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरूका बारे कार्य योजना तय गर्न दिएको सुझाव कार्यान्वयन नगरेको,विज्ञहरूको सुझावलाई समेत बेवास्ता गरेको,सरकार यो महामारीका बारे संवेदनशील बन्न नसकेको जस्ता विषयहरू समेटिएका छन्।

विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारले प्रभावकारी पहल नगरेको,सङ्कटमा परेका आफ्ना नागरिकलाई राज्य छ,राज्यले अभिभावकत्व ग्रहण गर्छ र सङ्कटबाट पार लगाउँछ भन्ने विश्वास दिलाउन नसकेको जस्ता विषयहरू ज्ञापन पत्रमा उल्लेख छ। ‘तपाईँ र तपाईँ नेतृत्वको सरकारको अभिव्यक्ति,कार्यशैली र कोरोना नियन्त्रणका लागि भइरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपालीहरू सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन्। तपाईँहरू यो महामारीलाई गम्भीरतापूर्वक लिई रहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ। यो स्थितिलाई एक पटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईँको ध्यानाकर्षण गराउन चाहन्छौँ।

तपाईँको अभिव्यक्ति हेर्दा र सुन्दा लाग्छ, यो संसारमा म जति जान्ने अर्को कुनै व्यक्ति छैन। म नै राज्य हुँ र मैले जे भनेको छु त्यही मात्र ठिक हो अरू सबै बेठिक भन्ने अहङ्कार र दम्भ सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिबिम्बित हुनु शोभनीय होइन। फ्रान्सका १६ औँ शताब्दीका राजा लुई चौधौंको जस्तो अधिनायकवाद र निरङ्कुश प्रवृत्तिको अभिव्यक्तिले लोकतन्त्रको मर्यादा समेत बिर्सेको आभास हुन्छ’ सभापति विष्टले हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्र बुझ्दै कार्यवाहक महावाणिज्यदूत भट्टराईले आज नै प्रधानमन्त्री कार्यालयमा पुर्‍याई दिने बताए।

ज्ञापन पत्र बुझाउन सभापति विष्टसँगै समितिका महासचिव मुनीन्द्र नेम्वाङ्ग,सचिव भोजराज थोकर,केन्द्रीय सदस्य द्वय वेदप्रसाद खरेल र सुवास लामा,समितिका केन्द्रीय सल्लाहकार कृष्ण विष्ट,समितिका लङ्ग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बास्तोलासहित जनसम्पर्क समितिका सदस्यहरू अञ्जन चौलागाईं र कला खरेल महावाणिज्यदूतावासको कार्यालय पुगेका थिए।

समितिले बुझाएको ज्ञापन-पत्रको पूर्ण विवरण यसै विज्ञप्तिसाथ संलग्न छ:

प्रतिक्रिया