अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

देश नेपाल मेरो

नवराज न्यौपाने 'मौन' २०७७ असार १ गते १०:१४ मा प्रकाशित

कविता
(मन्दाक्रान्ता छन्द)

आएँ टाढा तर हृदयमा सम्झना झल्झली छ
ज्यादै गर्मी तरर पसिना देह यो खलखली छ
छाडी आएँ मधुर लहरी गाउँ बेसी पँधेरो
बिर्सूँ भन्दा पनि नसकिने देश नेपाल मेरो

खेल्थ्यौँ हामी बन चहुरमा गीत नौलो सुसेली
हावा चल्थ्यो सिरिरि कसरी धान खेल्थ्यो बयली
खाडी बस्दा दिन दिन भयो जिन्दगानी अँधेरो
स्वर्गै जस्तो तर गरिब यो देश नेपाल मेरो

बाँझो जग्गा किन किन भयो आज लाग्दा विदेश
बाबा-आमा परिजन सबै सम्झनामा अशेष
सोच्थेँ पैसा श्रम बल बगी जिन्दगी बित्छ तेरो
बन्ला कैले युवक नभए देश नेपाल मेरो

हेरी अग्ला हिमशिखर ती दर्द सारा भुलिन्थ्यो
द्यौसी भैलो नव भजन ती सोरठीमा खुलिन्थ्यो
आफ्नै उत्पादन कति थियो पर्ममा खुल्छ मेलो
अहिले सम्झेँ मन मगजमा देश नेपाल मेरो

प्रतिक्रिया